Headlines News :
Home » » विदेशबाट के ल्याउँदा विमानस्थलमा भन्सार शुल्क लाग्छ ? के ल्याउँदा लाग्दैन ! नयाँ केहि परिबर्तित नियमहरु यस्ता छन

विदेशबाट के ल्याउँदा विमानस्थलमा भन्सार शुल्क लाग्छ ? के ल्याउँदा लाग्दैन ! नयाँ केहि परिबर्तित नियमहरु यस्ता छन

Written By Unknown on Wednesday, March 23, 2016 | 9:29 PM


चैत ११, काठमाडौं । भन्सार विभागले विदेशबाट फर्कदा ल्याइने सामानहरुको हकमा दिने छुटमा केही परिवर्तन गरेको छ । वैदेशिक रोजगारीको शिलशिलामा होस् या अन्य व्यक्तिगत कामको शिलशिलामा विदेश गएर फर्कँदा सामान ल्याउनेको हकमा केही संशोधन गर्दै भन्सार विभागले नयाँ नियम लगाएको हो।

केही नियममा परिवर्तन गरिएको भन्दै भन्सार विभागले अधिकांश भने पूरानै रहेको जनाएको छ। भन्सार ऐन २०६४ को दफा ९ को उपदफा ३ ले नेपालमा स्थायी बसोबास गर्ने नागरिकले विदेशबाट फर्कँदा व्यक्तिगत प्रयोजनका लागि ल्याउने सामानको भन्सार शुल्क पूर्ण रुपमा छुट दिने व्यवस्था गरेको छ।

जसमा लुगाफाटा, बिछ्यौनादेखि गृहस्थी पूराना सामान र औषधि उपचार गराई नेपाल फर्केका विरामीले ल्याउने औषधिमा कुनै भन्सार कर लाग्दैन। त्यस्तै शारीरिक रुपमा अशक्तले सहाराको रुपमा प्रयोग गर्ने सामान, बच्चा राख्ने पेराम्बुलेटर र ट्राइसाइकल ल्याउन पाइन्छ। घडी, स्टिल क्यामरा, भिडियो क्यामरा, सेलुलर मोबाइल फोन, पेन ड्राइभ, ट्याब्लेट वा ल्यापटप वा कम्प्युटर पनि एक–एक थान ल्याउन पाइने विमानस्थल भन्सार कार्यालयले जनाएको छ।

भन्सार कार्यालयका अनुसार सुन तथा सुनको गहना पचास ग्रामसम्म, चाँदी तथा चाँदीको गहना पाँचसय ग्रामसम्म र १ लाख रुपैयाँ मूल्यसम्मको जडित साथमा ल्याएको गहना  र पेशागत यात्रुले प्रयोग गरी ल्याएको सामान्य प्रकारका सामानहरु एक एक थानमा पूर्ण भन्सार छुट छ।

यसको साथै विदेशमा ६ महिनाभन्दा बढी बसेर फर्किने यात्रुलाई पाँचसय ग्रामसम्म सुन तथा सुनका गहना र एक किलो ग्रामसम्म चाँदी तथा चाँदीका गहना प्रति ग्राम ४ सय २० रुपैयाँ महसुल तिर्ने गरी ल्याउन पाउने अवसर पनि छ।

६ महिना भन्दा कम समय बसेर फर्किने यात्रुलाई ४ सय ग्रामसम्मका सुनका गरगहना र ५ सय ग्रामसम्म चाँदीका गरगहना प्रतिग्राम ६ सय ३० रुपैयाँ महसुल तिर्ने गरी ल्याउन पाउने भन्सार कार्यालयले जनाएको छ।

एनआरएनको हकमा भने ४ सय ग्राम मात्र सुनको गरगहना ल्याउन पाउने र  प्रति ग्राम ६ सय ३० रुपैयाँ कर तिर्न पर्ने व्यवस्था गरिएको छ।
त्यस्तै चाँदीको हकमा भने ६ महिना भन्दा बढी समय विदेशमा बसेर आउनेको लागि १ हजार ग्रामसम्म र ६ महिना भन्दा कम अवधि बसेर नेपाल आउनेको लागि ५ सय ग्राममा क्रमशः  प्रति ग्राम ४ सय २० रुपैयाँ र ६ सय ३० रुपैयाँका दरले शुल्क लाग्ने भन्सार कार्यालयले जनाएको छ।

त्यस्तै शरीरमा लगाउने लुगाफाटा, जुत्ता, कस्मेटिक लगायतका सामान पन्ध्र थान,घरायसी प्रयोगका सामान्य किसिममा उपकरण जस्तै मिक्सर, जुसर, सिलाई मेसिन, ग्यास टेबुल इस्त्री (आइरन), राइसकुकर लगायतका दुई थान सामानमा पूर्ण भन्सार छुट हुनेछ।

त्यस्तै डाक्टरका लागि ब्लड प्रेसर नाप्ने सामान्य यन्त्र, स्टेथेस्कोप, खेलाडीको खेलकुद सम्बन्धी सामान जस्तै फुटबल, भलिबल, ब्याटमिन्टन सेट, गवैयाको सामान्य बाजा जस्तै– गितार हार्मोनियम, तबला, जस्ता सामानहरु पनि पूर्ण भन्सार छुटमा ल्याउन सक्ने व्यवस्था कार्यालयले गरेको छ।

यस बाहेक सात किलोग्रामसम्म खाद्य परिकार, १.१५ लिटरसम्म मदिरा ल्याउन पाउने छन्। नेपाल सरकारले दिएको सुविधाभन्दा बढी मदिरा ल्याएमा भने कब्जा हुने भन्सार कार्यालयले जनाएको छ। यस्ता मालसामान नेपाल आउनु अघि वा पछि नेपाल प्रवेश गरेको मितिले तीन महिनाभित्र भन्सार गोदाममा दाखिला हुनुपर्ने छ।

कार्यालयका अनुसार यी सामानमा यात्रुको अवस्था, परिवार संख्या, बसेको मुलुक र समयावधि समेतलाई ध्यानमा राखेर भन्सार कार्यालयका प्रमुखले औचित्य हेरी स्वीकृति पनि दिन सक्ने छन्। साथै विदेशमा बसेका व्यक्तिले नेपालस्थित आफन्त वा परिवारका सदस्यलाई ३ सय ५० अमेरिकी डलरसम्मको सामान पठाएमा प्रमाण हेरेर समदर भन्सार शुल्क मात्र लाग्ने कार्यालयले जनाएको छ।

सौगातको रुपमा नेपाली नागरिकले विदेश जाँदा नेपालमा उत्पादित पचास हजार मूल्यसम्मका मालसामान ( नेपाल सरकारले प्रतिबन्ध लगाएका बाहेक) मा महसुल लाग्दैन। कुनै नेपाली नागरिकको विदेशमा बसोबास गरिरहेको समयमा मृत्यु भएको हो भनी प्रमाणित भएमा पनि निज र निजको परिवारले निजी प्रयोग गरेको पुराना सामानहरु (सवारी साधन बाहेक) स्वदेशमा फिर्ता ल्याउँदा पनि सम्पूर्ण महसुल छुट हुने भन्सार कार्यालयले जानकारी दिएको छ।

उल्लेखित सामान बाहेक नितान्त घर व्यवहारमा आवश्यक पर्ने सामान बढीमा दुई–दुई थान सम्ममा महसुल पूर्ण छुट हुनेछ। नेपाल सरकारले दिएको सुविधाभन्दा बढी सामान ल्याउँदा भने तोके बमोजिमको महसुल तिर्नुपर्ने भन्सार ऐन नियममा व्यवस्था गरिएको छ।

तर कुनै यात्रुले भन्सारमा घोषणा नगरी कुनै सामान लुकाई छिपाई ल्याउने वा लैजाने प्रयत्न गरेमा त्यस्तो सामान जफत गरी प्रचलित कानुन बमोजिम कारबाही हुने कार्यालयले जानकारी दिएको छ।

त्यस्तै मलेसिया तथा खाडी मुलुकको हकमा एक वर्ष भन्दा बढी काम गरी नेपाल फर्केका कामदारलाई भने ३२ इन्च भन्दा कम इन्चको एलइडीमा भन्सार महसुल नलाग्ने कार्यालयले जनाएको छ। यो नियम नेपाल सरकारबाट श्रम स्वीकृत लिएर गएका कामदारको हकमा मात्र लागू हुने छ। विदेश गएको समय र आउँदाको समय हेरेर अवधि मूल्याङ्कन गर्ने गरिन्छ।

त्यस्तै ६ महिनासम्म विदेश बसी नेपाल फर्केकाहरुको लागि २२ देखि २९, ३० देखि ३२, ३३ देखि ३९, ४० देखि ४९ र ५० इन्च भन्दा माथिका एलईडीमा क्रमशः  प्रति इन्च २ सय, ३ सय, ४ सय ५०, ५ सय ५०, ६ सय र १२ सय ५० रुपैयाँ कर लाग्ने छ।

६ महिनाभन्दा बढी  विदेश बसेर नेपाल फर्केकाहरुको लागि क्रमशः २२, २३ देखि २९, ३० देखि ३२, ३३ देखि ३९, ४० देखि ४९ र ५० इन्च भन्दा माथिमा क्रमशः  प्रति इन्च १ सय ५०, २ सय ५०, ४ सय, ५ सय, ५ सय ५० र १२ सय  रुपैयाँ कर लाग्ने छ।

त्यस्तै ल्यापटप, फ्रिज र अन्य सामानको भने मूल्याङ्कन हेरी महसुल लिइने कार्यालयले जानकारी दिएको छ। साथै नेपाली कामदारले मलेसिया तथा खाडी मुलुकबाट फर्कदाँ तीनवटा ब्ल्याङ्केट ल्याएमा दुईवटासम्मको सम्पूर्ण भन्सार महसुुल छुट दिइने र अर्को एउटामा भने १ सय ५० रुपैयाँ लिइने पनि भन्सार कार्यालयले जानकारी दिए।

नेपाल सरकारले सुविधा दिएको भल्दा बढी सामान ल्याएमा सामानको मूल्याङ्कन हरी महसुल लिईने यादवले जानकारी दिए। यसरी आएको सामान सम्बन्धित संस्था वा व्यक्तिले ७ दिनसम्ममा लिएमा प्रतिदिन प्रतिकिलो ३० पैसाको दरले गोदामा शूल्क लाग्ने नेपाल पारवान तथा गोदाम व्यवस्थापन प्रमुख अच्युत अधिकारीले बताए।

त्यस्तै ७ दिन देखि ३० दिनसम्म प्रतिदिन प्रतिकिलो ४० पैसा  र ३० दिन देखि ६० दिनसम्म प्रतिकिलो ८० पैसा गोदाम शूल्क लाग्ने उनले बताए। ६० दिन भित्रपनि सम्बन्धित व्यक्ति वा संस्था सामान लिन नआएको अवस्थामा गोदाम घरले विमानस्थल भन्सार कार्यालयललाई जिम्मा लगाउने अधिकारीले बताए। भन्सार कार्यालयल पनि सामान बुझेपछि एक साताको हक  म्याद राखी हकदाबी सूचना निकाल्ने र कसैले हक दाबी नगरेको अवस्थामा सामान जफत गरी बिक्री वितरण गर्ने छ।

त्यस्तै लेवर चार्ज प्रतिकिलो २ रुपैयाँ ५० पैसा र ऐजेन्ट शुल्क १ रुपैयाँ देखि ५ सय रुपैयाँ सम्म महसुल तिर्नुपर्ने उनले जानकारी दिए। साथै यी बाहेक नेपाल सरकारले तोकेको सम्पूर्ण महसुल लाग्ने भन्सार कार्यालयले  जानकारी दिएको छ। उत्तम काप्री, setopati अनलाइनबाट साभार 

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger