Headlines News :
Home » » फेरी गौचरण बन्दै तुलसीपुरको टरिगाउँ एयरपोर्ट, नारायण खड्काले तयार पारेको रिपोटर्स डायरी

फेरी गौचरण बन्दै तुलसीपुरको टरिगाउँ एयरपोर्ट, नारायण खड्काले तयार पारेको रिपोटर्स डायरी

Written By Unknown on Tuesday, May 10, 2016 | 4:29 AM


नारायण खड्का, तुलसीपुर २८ -बैशाख । दाङको एकमात्रै टरिगाउँ विमान स्थल फेरि गौचरण बन्दै छ । वरीपरी तारवार छ तर एयरपोर्ट भित्रै गाईका बथान चढीरहेका भेछिन्टन् ।

प्लेन आउन थालेपछि कतिपय स्थानीयहरुले नै आफना बस्तु चौपाया चरणका लागि तार चुडालेर भित्रै प्रवेश गराउँदै आएका छन् । उनीहरुले छिनेका तारवारवाट छाडा चौपाया भित्रै जान थालेपछी एयरपोर्ट फेरी गौचरणको रुपमा परिणत हुन थालेको हो ।



पछिल्लो समय गत चैत २ गते देखि टरिगाउँ विमान स्थलमा विमान अवतरण भएको छैन । अब यो एयरपोर्टमा कहिले आउँछ वा आउँदैन त्यो पनि अनिश्चित जस्तै बनेको छ । त्यसैले तारवार छिन्ने र गाईवस्तु एयरपोर्ट भित्र हुल्ने काम स्थानीयहरुले पनि गर्दै आएका छन् ।

एयरपोर्टको सुरक्षाको लागि नेपाली सेना र नेपाल प्रहरी एयरपोर्ट भित्रै बस्दै आएको छ । तर विहान आउन छोडेपछी उनीहरुले पनि पहिला जस्ता एयरपोर्टको सुरक्षामा उति चासो देखाउन छोडेका छन् । त्यसअघि पनि एयरपोर्टको तारवार ध्यवस्त पारिएको थियो ।

एयरपोर्ट भित्र बस्तु चौपायाको सहज आवाज जावात थियो तर उक्त कुरा मिडियामा आएपछि पछि त्यो रोकिएको थियो । पछिल्लो विमान कालोपत्रे भएपछि २०७२ साल जेठ १४ गते देखि गोमा एयरले टरिगाउँ एयर पोर्टमा हप्ताको दुई दिन विमान उडाउन सुरु गरेको थियो । तर एक वर्ष नपुग्दै उक्त कम्पनीको विमान नियमित आउन छोडेको छ ।

विमानको अभाव देखाउँदै विमान कम्पनीले हिमाली र पहाडी जिल्लालाई प्राथमिकतामा राखेर उडान गर्दा दाङको एकमात्रै विमान स्थलमा विमान आउन छोडेको हो । जसले गर्दा यो विमान स्थल हेर्नका लागि मात्रै निर्माण गरिएको हो की भन्ने जस्तो नकारात्मक टिका टिप्पनीहरु हुन थालेका छन् ।

टरिगाउँ एयरपोर्ट प्रतिको स्थानीयको धारणा नकारात्मक बन्दै गएको छ । विमान स्थल प्रयोग विहीन वनेपछि सरकार र जिल्लावाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरुको समेत आलोचना सुरु भएको छ । कतिपय स्थानीयहरुले २६ विगाहा क्षेत्रफलमा फैलिएको उक्त विमानस्थलमा बस्ति बसाल्नुपर्ने वा गाई बस्तु चराउनका लागि खुल्लागर्दा उपयुक्त हुने भन्ने कोणवाट नकारात्मक धारणा समेत व्यक्त गर्न थालेका छन् ।

स्थानीय पवित्रा वलीले भनिन् ‘ विमान नै नआउने एयरपोर्टको के काम ? बरु हामीलाई हाम्रो गाईवाख्रा चढाउन दिए कति जाति हुने थियो ।’ कतिपयले भने सुकुम्वासी र गरिव दुःखीहरुका लागि बस्ति बसाल्दा उपयुक्त हुने धारणा व्यक्त गर्न थालेका छन् ।

प्रमुख कारणहरु
गत साल जेठ १४ गते देखि हप्तामा दुई दिन विमान उडाउने सर्तमा गोमा एयरले केही महिना नियमित उडान भरेपनि धेरै पटक उडानहरु मिस भएका थिए । यस्तो परिस्थितिमा पछिल्लो समय उसलाई एउटा निहु चाहिएको थियो । त्यो निहु हाल आएर निर्मानाधिन खानेपानीको ट्याङ्की बनेको छ ।

तर विमान नियमित नहुनुको प्रमुख कारण खानेपानीको ट्याङ्की निर्माण गरिनु मात्रै हैन । अन्य धेरै कारणहरु पनि छन् । यात्रुको अभाव, प्लेनको अभाव अर्थात गोमा एयरको एउटा प्लेन नियमित सर्भिसिङका लागि विदेश लैजानु, अहिले पर्यटक आउने समय भएकोले विमान संचालक कम्पनीहरुले हिमाली क्षेत्रमा विमान उडाएर मुनाफा खोज्नु नै मुख्य कारण हुन ।

नियमति विमान उडाउँदै आएको गोमा एयरले नै हाल टरिगाउँ एरपोर्टमा विमान उडाउन नमान्नुको प्रमुख कारण विदेशी पर्यटकवाट डलरको व्यापार गर्नु नै हो । किनकी विमान संचालक कम्पनीलाई तराईमा उडान गरेको भन्दा हिमाली क्षेत्रमा विमान संचालन गर्नु आर्थिक दृष्टिले अति लाभदायिक छ । विदेशी पर्यटकबाट पाउने डलर नेपाली यात्रुवाट पाउने भन्दा झन्डै तेब्बरले बढी पर्न आउँछ ।

‘जता वढी मुनाफा हुन्छ उतै उडान भरिरहेको छ , हाम्रो जस्तो तराई तिर विमान संचालक कम्पनीको कम चासो र प्राथमिकता छ ।’ टरिगाउँ एयरपोर्टमा विमान संचालनको जिम्मा लिँदै आएको तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विमल रिजालले भने ‘ माउन्टेन फलाई गर्दा भुक्तानी डलरमा हुन्छ र हाम्रो जस्तो एयरपोर्ट बाट विमान चढ्ने यात्रुभन्दा तीनगुणा वढी कमाई हुन्छ । त्यसैले उतै आर्कषित छ ।’

जनप्रतिनिधि र संघ विचको ईगो
एयरपोर्टको लागि जिल्लाका प्रतिनिधिहरुले खासै चासो दिएका छैनन् । सस्तो लोकपृयताको लागि भाषणमा एयरपोर्टको प्रशंग उठाउने उनीहरुले त्यो अनुरुपको व्यवहार प्रदर्शन गरेका छैनन् । जनप्रतिनिधिहरु तुलसीपुर उद्योग वाणिज्य संघले प्लेन ल्याउन खेलेको भूमिकालाई मुखले प्रशंशा त गर्छन तर उद्योग वाणिज्य संघका पदाधिकारी जनप्रतिनिधि भन्दा स्मार्ट बनेको बन्न खोजेको आरोप लगाउँछन् । सोही कारण उनीहरु वाणिज्यसंघलाई कमजोर तुल्याउने रणनीतिमा लागेको उद्योग वाणिज्य संघका एकजना पदाधिकारी आशंका गर्छन ।

वास्तवमा तुलसीपुर उद्योग वाणिज्य संघले जसरी एयरपोर्ट ठेक्काको रुपमा संचालन गर्न खोजेको थियो वास्तवमै त्यो उसको दुस्प्रयास नै थियो भन्ने मत जनप्रतिनिधिहरुले व्यक्त गर्दै आएका छन् । ‘प्लेन संचालन गर्ने नागरिक उड्डयन प्राधिकरणले हो त्यसका लागि जनप्रतिनिध छन् ।

हामीलाई वाईपास गरेर जान खोजियो ।’ एकजना निर्वाचित सांसदले उद्योग वाणिज्य संघले जनप्रतिनिधिको काम गर्ने हो भने हाम्रो के काम रहन्छ भन्ने प्रश्न गरे । कतिपयले नेताहरुले संघको विमान उडाउने प्रयास सफल नहुने सुरु देखि नै विश्लेशन गर्दै आउनुले पनि उक्त कुरा स्पष्ट हुन्छ । उद्योग वाणिज्य संघले पनि यहाँका जनप्रतिनिधिले साथ र समर्थन नगर्दा समस्या उत्पन्न भएको स्वीकार गर्छ ।

खासमा जनप्रतिनिधि र दलका नेताहरु वाणिज्य संघ आफूहरुलाई नजरअन्दाज गरेर अगाडी बढ्न थालेकोमा चित्त दुखाई छ । इगो यत्तिमा छ । एक जना जनप्रतिनिधिले भने ‘जन प्रतिनिधिको काम उद्योगी व्यापारीले नै गर्ने हो भने हाम्रो भूमिका के हुने हो ? व्यापारीले एक्लै कसरी प्लेन संचालन गर्दा रहेछन् हेरौंला ।’ स्वार्थ अरुपनि छन् ।

कतिपयको स्वार्थ सदरमुकाम घोराही क्षेत्रमै एयरपोर्ट निर्माण गर्ने छ । त्यस्तै अर्काे पक्ष लमही क्षेत्रमा एयरपोर्ट निर्माण गर्न चाहान्छ । केही समय पहिले नारायणपुर क्षेत्रमा त्यसको लागि सर्भे समेत भएको थियो । अर्काे महत्वपूर्ण पक्ष नेपालगञ्जले तुलसीपुरमा एयरपोर्ट सूचारु भए आफूलाई क्षति हुने धारणा राख्दछ । कारण उसका आधा जसो यात्रु दंगाली छन् । यस्तै अनेक स्वार्थहरुले गर्दा टरिगाउँ एयरपोर्टको भविस्य अन्यौंलपूर्ण वन्दै गएको हो ।

एयर ट्राफिकको काज सरुवा
टरिगाउँ एयर पोर्टका प्रमुख एवं एयर ट्राफिक प्रभास रञ्जनको काज सरुवा भइसकेको छ । विमानले उडान भर्न छोडेपछि नागरिक उड्डयन प्राधिकरणले उनले अनेत्र सरुवा गरेको हो । एयर ट्राफिक प्रभास रञ्जनका अनुसार प्लेन आउने नआउने टुङ्गो नभएकोले प्राधिकरणले आफ्नो काज सरुवा गरेको बताए । उनले भने ‘ हाल प्लेन आउने नआउने टुङ्गो भएन त्यसैले यहाँ बस्नुको औचित्य सकिएको छ र मेरो काज सरुवा भएको छ ।’

टरिगाउँमा विमान संचालनको जिम्मा लिँदै आएको तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विमल रिजालले पनि प्राविधिकहरुले अनुमति नदिदा सम्म विमान स्थल स्थगन गरिएको बताए । उनले खानेपानीको ट्याङ्की निर्माण भएपछी विमान अवतरण र उडान हुन सक्ने परिस्थिति निर्माण बनेको जस्ता कारणहरु देखाउँदै प्राविधिकहरुले विमान स्थल स्थगित गरेको बताए । तर यसविषयमा नागरिक उड्डयन प्राधिकरणले स्पष्ट बोलेको छैन ।

विमान नियमित गराउने वारेमा प्राविधिक संग छलफल भइरहेको अध्यक्ष रिजालले बताए । उनले भने ‘ केही समयको लागि विमान सेवा स्थगन गरिएको साँचो हो तर कहिले सम्म भन्नेकुनै एकीन छैन । त्यसैले विमान सेवा फेरी कहिले सुरु हुन्छ भन्ने पनि टुङ्गो छैन ।’ यात्रु अभावको कुरालाई उनले नियमित फलाईट नभएकोले यात्रु नआएको भएपनि दाङवाट यात्रुको अभाव नहुने दाबी गरे ।

प्राविधिक समस्या
टरिगाउँ एयरपोर्टमा प्राविधिक कारणले गर्दा ठूला विमान आउन संभव छैन । गोमा , सिता र तारा एयरका १८ सिट क्षमताको विमान मात्रै यहाँ अवतरण हुन सक्छन् । साढे ८ करोडको डेन्डरवाट कालोपत्रे गरिएको टरिगाउँ विमान स्थलको धावन मार्गको लम्वाई ७ सय ५० मिटरको छ भने चौडाई ३० मिटरको मात्रै छ । यसमा बढीमा डोनियर सम्मको विमान मात्रै अवतरण हुन सक्छ ।

नेपाल वायू सेवा निगमका ठूला खाले विमानहरु अवतरणको लागि कम्तिमा पनि धावनमार्गको लम्वाई एक हजार दुई सय मिटर देखि माथि एक हजार पाँच सय मिटर सम्मको र चौडाई ३० देखि ५० मिटर सम्मको धावन मार्ग कालोपत्रे आवश्यक पर्छ । त्यसैले यहाँ आरएको विमान आउन हाल सम्भव छँदै छैन । त्यसमा पनि पछिल्लो सयम नजिकै करोडौंको खानेपानीको संरचना निर्माण गरिदा विमान संचालक कम्पनी गोमा एयरलाई एउटा बाहाना भएको छ । त्यही कारण देखाएर उसले विमान ल्याउन मानेको छैन ।

टरिगाउँ एयर पोर्टका प्रमुख प्रभास रञ्जनले गुगल सर्भेको आधारमा एक सय २० मिटर भित्रै खानेपानीको ट्याङ्की निर्माण भएपछि विमान अवतरण गर्न र उडाउन चुनौती पूर्ण बनेको बताए । उनका अनुसार धावन मार्गको ५ सय मिटर वरपर वा दायाँ बाँया अग्ला संरचना निर्माण गर्न पाईदैन भने धावन मार्गको सिधा एक किलोमिटर सम्म अग्ला संरचना निर्माण गर्न पाईदैन । उनले भने ‘टरिगाउँ एयरपोर्ट निकै जोखिम युक्त छ । धावन मार्गको ५० मिटरकै दुरीमा निजी जग्गामा निकै अग्ला रुखहरु छन् ।

नजिकै सामुदायिक वन छ त्यहाँ पनि निकै अग्ला रुखहरु छन् ।’ उनले टरिगाउँ एरपोर्टको नजिकै दक्षिणमा निजी जग्गामा मसला जातको अग्ला रुखहरु रहेकोले त्यो नकाटदा सम्म विमान संचालन गर्नु निकै चुनौती रहेको बताए । त्यस्तै आसपासको सामुदायिक वन चिलको बासस्थान हो । धावन मार्गमै दर्जनौं चिलहरु बस्न आउने हुँदा पनि समस्या हुने गरेको टरिगाउँ एयर ट्राफिक प्रभास रञ्जनले बताए । उनले भने ‘ कतिदिन प्लेन ल्यान्ड गर्ने सयममा सुरक्षाकर्मी लगाएर धावन मार्गमा वसेका चिलहरु धपाउनु परेको छ , त्यस्तो अवस्थामा अचानक चिल प्लेन संग ठोक्किएर ठूलो क्षति हुने खतरा रहन्छ ।’

इन्धन डिपो नहुनु

प्लेन नियमति नहुनुको प्रमुख कारण यहाँ इन्धन डिपो नहुनु पनि हो । इन्धन डिपो नहुँदा यहाँ प्लेन आउन मान्दैनन् । कारणलाई कि नेपालगंज वा सुर्खेत गएर उनीहरुले इन्धन भर्नुपर्ने अप्ठेरो अवस्था छ । इन्धनकै कारण काठमाडान्डौ सोझै दाङको टरिगाउँ एयरपोर्टमा अवतरण गर्नुपर्ने यात्रु पहिला सुर्खेत पु-याइन्छन् । जसले गर्दा दाङका यात्रुले समेत अनावश्यक रुपमा सुर्खेत सम्मको भाडा तिर्नु परेको छ । अर्काे तर्फ समय खेर गएको छ ।

गतसाल जेठ १४ मा विमान सेवा सुरु हुँदा दाङ काठमान्डौंको भाडा ९ हजार निर्धारण गरिएको थियो । जवकी त्यति भाडा सुर्खेतको पनि छैन । भाडा निकै चर्काै भएको गुनासो आएपछि भाडादर ८ हजार ४ सय हुँदै पछिल्लो समय ७ हजार दुई सय कायम गरिएको थियो । भाडा घटाउनुपनि विमान घटाएपछि नै विमान नियमित आउन छोडेको हो ।

प्लेनमा यति चर्काै भाडा हुनुको प्रमुख कारण यहाँ इन्धन डिपो स्थापना नहुनु नै हो । यदि यहाँ इन्धन डिपो हुनेथियो भने प्लेनहरुलाई इन्धन भर्नको लागि वाँके वा सुर्खेत जानुपर्ने बाध्यतको अन्त्य हुने थियो । जसले गर्दा भाडापनि केही सस्तो हुने थियो । इन्धन डिपो स्थापनाको प्रयास जारी रहेको बताइएता पनि त्यसले अझै सार्थकता पाउन सकेको छैन ।

टरिगाउँ एयरपोर्ट नजिकैको कपास विकास समितिको साढे चार विगाहा जग्गामा इन्धन डिपो स्थापनाको कुरा चल्न थालेको वर्षाैं भयो तर त्यो कुरामै सिमित वनेको छ । आश्वासन मै सिमित वनेको छ । जविकी प्रमुख दलका दर्जनौ नेता र मन्त्रीले उक्त स्थलको स्थलगत अवलोकन गरिसकेका छन् । इन्धन डिपो स्थापनाका लागि राजधानी फर्कै लगतै काम सुरु गर्न आश्वासन उनीहरुले दिनेगर्छन तर त्यो आश्वासन मै सिमित बन्दै आएको छ ।

प्लेनको आवश्यक्ता कति ?
टरिगाउँ एयरपोर्टको इतिहास निकै पुरानो छ । यहाँ २०११ सालदेखि विमानले उडान थालेको थियो । २०११ साल देखि २०४२ साल सम्म नियमित रुपमा विमान संचालनमा भएको एयरपोर्ट हो यो । त्यतिवेला सिधा दाङ काठमान्डौं जाने यातायातको अर्काे विकल्प थिएन । राप्ती नदीमा पुल निर्माण भइसकेको थिएन ।

बुटवल स्थित तिनाउ नदीमा पनि पुल निर्माण भएको थिएन । त्यसैले यात्रुहरु रुपैडिया र भैरहवा भएर भारतीय भूमी हुँदै विराटनगर वा काठमान्डौं जानुपर्ने परिस्थिति थियो । केहि वर्ष अवरोध भएपनि त्यसपछि माओवादीको युद्धकालमा ०५६ सालसम्म पनि यहाँवाट विमान संचानल भएको थियो ।

केहि समय अवरोध भएपनि ०५८ साल सम्म विमान सेवा जारी थियो । त्यो विचमा केही वर्ष फेरी विमान सेवा अवरुद्ध बन्न पुगेको थियो तर पनि जसोतसो २०७० सम्म विमान संचालनमा आएको थियो । त्यसपछि टरिगाउँ विमान स्थलको कालोपत्रेको लागि विमान अवरुद्ध बन्यो । त्यसपछि विमान कालोपत्रे भएपछि तारा एयरले पहिलो पटक दाङ र रुुकममा एकै दिन परिक्षण उडान भरेको थियो । रुकुममा त्यसपछि विमान नियमित भएपनि त्यसको झन्डै एक वर्षको अन्तरालमा मात्रै ०७२ जेठ १४ देखि टरिगाउँ एयरपोर्ट वाट गोमा एयरले विमान सेवा सुरु गरेको थियो । तर त्यो एक वर्ष पुग्दा नपुग्दै अवरुद्ध बन्न पुगेको छ । त्यसको प्रमुख कारण प्रयाप्त यात्रु नपाउनु पनि प्रमुख कारण हो ।

आज आएर विगतको जस्तै राजधानी जानको लागि प्रसस्त यातायातका विकल्पहरु भित्रिएका छन् । नयाँ नयाँ प्रालिहरु खुल्दै गएका छन् । एसी र डिलक्सवसहरु भित्र्यापछि अब विमान चढ्नुपर्ने बाध्यता नरहेको तर्क गर्न थालिएको छ । हुने खाने वा सम्भ्रान्तहरु वा गंभिर प्रकृतिका विरामी वा घाईतेहरु मात्रै वाध्यताले विमान चढ्ने हुन । त्यसमा पनि विमान नियमित नहुँदा उनीहरु पनि विश्वस्त हुन सक्ने वातावरण वन्न सकेन । त्यसैले आज आएर टरिगाउँ एयरपोर्टको उपयोगिता माथि नै प्रश्न सृजना भएको छ । किनकी विमान बाट काठमान्डौं जाने भाडाले मज्जाले दाङ काठमान्डौ वा काठमान्डौं दाङको यात्रा गर्न सकिन्छ ।

निस्कर्ष
तर टरिगाउँ एयरपोर्टको भविस्य यसरी खुम्चाउनु वा मुल्याङ्क गरिनु अनुचित हो । किनकी ठूला होटेल , उद्योग स्थापना गरेर मात्रै जिल्लाको सम्वृद्धि संभव छैन । वाह्य पर्यटक आउँदैनन् । उनीहरु सुविधा विना पट्यार लाग्दो यात्रामा आउँदैन । तर प्लेन भएमा उक्त समस्या रहँदैन । त्यसैले एयरपोर्ट भएमा मात्रै जिल्ला सम्वृद्ध वनाउन सजिलो हुने छ । पर्यटक भित्रने छन् । ठूला लगानी कर्ता भित्रने छन् ।

जिल्ला विकसित छ भन्ने आधार खडा हुने छ । दाङ सल्यान, रोल्पा, रुकुम, प्यूठान जस्ता जस्ता जिल्लाहरुको प्रवेश द्धार दाङ नै हो । यी सबै स्थानका स्थानीय उत्पादन र पर्यटन प्रवद्र्धनका लागि एयरपोर्ट आधार बन्न सक्छ । तिव्र औद्योगिकरणको दिशामा अगाडि लम्किरहेको दाङमा थप लगानी भित्र्याउन एयरपोर्टमा नियमित विमान सञ्चालन आधार वन्ने छ । दाङलाई प्रदेश नम्वर पाँचको राजधानी निर्माणको प्रशंग चलिरहँदा त्यसको लागि एउटा आधार स्तम्भ बन्ने छ । तयारी हालतको विमानस्थललाई समेत जोगाउन नसक्ने हो भने समग्र जिल्लाको परिचय राम्रो बन्ने छैन । तुलसीपुर अनलाईनबाट साभार

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger