|
|
|
|
माधवकुमार ओली, रोल्पा २८–बैशाख । सशस्त्र द्वन्द्वको अति प्रभावित जिल्ला रोल्पामा सत्य निरुपन र बेपत्ता पारिएका व्यक्तीको छानविन आयोगमा उजुरी गर्ने पीडितहरुको सङ्ख्या झण्डै ३ सय पुगेको छ ।
मङ्गलबारसम्म जम्मा २ सय ६८ ओटा सत्य निरुपन र २५ ओटा वेबत्ता छानबिनका लागि उजुरी दर्ता भएको स्थानीय शान्ति समितिले जनाएको छ । रोल्पा जिल्लामा करिब १९ हजार भन्दा बढी द्वन्द्व पीडितहरु भएता पनि न्यून उजुरी आएको भन्दै स्थानीय शान्ति समिति रोल्पाले पीडितहरुलाई जानकारी दिने उद्देश्यले इलाका स्तरीय अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेको थियो ।
आयोगमा उजुरी दिन पीडितहरुले जानकारी नपाएकोले स्थानीय शान्ति समितिले जिल्लाका ११ वटै इलाकामा आयोगको उजुरी प्रक्रियाका बारेमा अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेको स्थानीय शान्ति समिति रोल्पाका संयोजक खेम बुढाले बताए ।
अभिमुखिकरण कार्यक्रममा गाविस स्तरमा रहेका स्थानीय शान्ति समितिका पदाधिकारी तथा सदस्यहरुलाई सहभागि गराई उनीहरु मार्फत गाउँ गाउँका पीडितहरुलाई उजुरी दिने प्रक्रियाको जानकारी गराइएको संयोजक बुढाले बताए ।
आयोगले केन्द्रीय स्तरबाट प्रचार प्रसार गर्दा गाउँमा रहेका पीडितहरुले जानकारी नपाएकोले पीडितहरुलाई सूचना दिने उद्देश्यले शान्ति समिति रोल्पाले यस्तो कार्यक्रम गरेको बुढाको भनाई छ ।

Post a Comment