|
|
|
|
सामान्य मान्छे आफ्नै बलबुताले खोला तर्न सक्दैनन् । खोला तर्न बनाइएको काठेपुल बुधबार आएको बाढीले बगाएपछि झनै समस्या थपिएको छ । अहिले केही स्थानीय बासिन्दाले खोलामा काठ राखेर डोरीको सहायताले खोला तर्न सहयोग गरिरहेका छन् ।
रुकुम, जाजरकोट र डोल्पाका मानिसहरु आवतजावत गर्ने प्रमुख बाटोमा पर्ने घेत्माखोलामा पक्की पुल नहुँदा वर्षेनी यस्तै हैरानी हुन्छ । जिल्लामा भएका विकास निर्माणको अनुगमन गर्न गाउँ आउनुभएकी जाजरकोटकी सांसद रीता रावललाई पनि घेत्माखोला तर्न उस्तै सकस भयो ।
स्थानीय बासिन्दाको सहयोगमा खोला तरेपछि सांसद रावलले २५ रुपैयाँ दिनुभयो । उहाँसँग मात्रै होइन खोला तारेर सहयोग गरे बापत सबैले २५ रुपैयाँ दिनुपर्ने खोला तार्दै आउनुभएका स्थानीय सेतु खत्रीले बताउनु भयो । जाजरकोट डोल्पा सडकको राडी छेपारे सडक खण्डमा पर्ने रुकुमको घेत्माखोला तारिदिए वापत सांसद रावलले २५ रुपैयाँ तिर्नुभएको हो । ‘सहयोग बिना खोला तर्न गाह्रो छ’ खोला तरेपछि एक यात्रु सुनिता बोहराले भन्नुभयो ।
खोलाबाट वारपार गर्न समस्या भएपछि प्रतिब्यक्ति २५ रुपैयाँ लिएर काठ र डोरीको सहायताले यात्रुलाई तार्ने गरेको खत्रीले बताउनु भयो । खोलामा पुल बनाउनका लागि धेरै पटक हारगुहार गरेपनि बजेट नपरेको उहाँले गुनासो गर्नुभयो । उहाँले यात्रुहरुलाई सहयोग गर्न भनेर जोखिम मोलेरै भएपनि खोला तार्ने गरेको बताउनु भयो । खोला बढेपछि यातायातका साधन समेत तर्न सक्दैनन् ।
यात्रुहरुले रकम तिरेर खोला तर्न बाध्य भएको र यातायातका साधन तर्ने गरी पक्की पुलको ब्यवस्थाको लागि आफूले सम्बन्धित निकायमा पहल गर्ने सांसद रावले बताउनुभयो । घोत्मे खोलाको यो क्षेत्र रुकुम क्षेत्र नं २ का सांसद एवं पूर्व मन्त्री जनार्दन शर्माको क्षेत्र हो । -राजेन्द्र कार्की/उज्यालो अनलाइनबाट


Post a Comment