Headlines News :
Home » » रोल्पा, रुकुम र दाङ जोड्ने सहिद मार्ग सात मिटर फराकिलो बनाइँदै

रोल्पा, रुकुम र दाङ जोड्ने सहिद मार्ग सात मिटर फराकिलो बनाइँदै

Written By Unknown on Monday, July 4, 2016 | 10:38 PM


असार २१, रोल्पा । सहिद मार्गअन्तर्गत गैरीगाउँको तिला बजारदेखि कोर्चाबाङको मिनाहीसम्मको सडक खण्ड ७ मिटर चौडा पारिएको छ ।
सडक फराकिलो र ग्राभेलको काम भइरहेको हो । सहिद मार्ग आयोजना कार्यालयले १ सय ६६ किलोमिटर लामो सडकको चौडाइ सबै ठाउँमा ७ मिटर बनाउन धमाधम काम गराइरहेको छ । यो मार्गले दाङ घोराहीदेखि मध्यरोल्पा हुँदै रुकुम सदरमुकाम मुसिकोट छुन्छ ।

‘यो सडक तीन जिल्लाको विकास जोड्ने मेरुदण्ड नै हो,’ सहिद मार्ग सडक आयोजना प्रमुख इन्जिनियर सुबोधकुमार देवकोटाले भने, ‘सडकको सबै भाग कालोपत्रे गर्न सकियो भने तीन जिल्लामै विकासले फड्को मार्नेछ ।’ सडकको सुरुवाती विन्दु दाङबाट कालोपत्रेको काम पनि थालिसकिएको छ । धमाधम काम भइरहेमा आगामी ५ वर्षभित्रमा पुरै सडक कालोपत्रे भइसक्नेछ ।

सशस्त्र द्वन्द्वका बेला रोल्पा–रुकुममा प्राय: ठप्प भएको विकासलाई सुचारु गर्न र विकास गाउँसम्म पुर्‍याउने उद्देश्यसहित शान्ति प्रक्रियापछि सहिद मार्ग आयोजनाको अवधारणा अघि सारिएको थियो । सडक निर्माण गर्न ८ वर्षदेखि बर्सेनि करिब ८ करोडका दरले सरकारले बजेट खर्चिसकेको छ । सहिद मार्गले पूर्व–पश्चिम राजमार्गको दाङ खण्डदेखि मध्यपहाडी मार्गको रुकुम खण्डलाई जोड्छ ।

चालु आर्थिक वर्षमा करिब १२ करोड बजेटबाट सडक फराकिलो बनाउने काम धमाधम भइरहेको हो । बहुवर्षीय ठेक्का प्रणालीअन्तर्गत तीन खण्डमा बाँडेर सडक फराकिलो बनाउन र ग्राभेल गर्न आयोजना कार्यालयले ठेक्कामार्फत काम गराइरहेको छ । होलेरी–तिला, तिला–दारबोट र दारबोट–घर्तीगाउँ गरी तीन खण्डमा सडक फराकिलो बनाउन तीन वटा निर्माण कम्पनीले बेग्लाबेग्लै ठेक्काको जिम्मा लिएका छन् ।

हाल ३२ देखि ९५ किलोमिटरको भागमा सडक फराकिलो बनाउन थालिएको छ । आयोजना प्रमुख देवकोटाका अनुसार सडक भत्किएमा अरू एक वर्षसम्म ती कम्पनीले नै मर्मत गरिदिनुपर्ने सहमति छ ।

तिलाबजारका होटल व्यवसायी हीरालाल जीसीका अनुसार सहिद मार्ग सुधारका काम चलेपछि सडकमा यातायातका साधन बढी चल्न थालेका छन् । ‘तराईका सामान पहाडमा ल्याउन र यहाँबाट कृषि उत्पादन लैजान सडक फराकिलो बनाइएकाले सजिलो भएको छ,’ उनले भने । - काशीराम डाँगी, ekantipur

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger