|
|
|
|
आगामी आर्थिक वर्षका लागि जिल्लाका खानेपानी आयोजनाहरु सञ्चालन, पुराना आयोजनाको मर्मत सम्भार र सञ्चालनमा रहेका आयोजनाहरुको स्तरबृद्धिका लागि सरकारले करिव १५ करोड बजेट बिनियोजन गरेको छ । सरकारले दुई प्रकारका योजनाहरुको लागि १४ करोड ७९ लाख ७९ हजार रुपैयाँ बजेट बिनियोजन गरेको खानेपानी तथा ढल निकास विभागले जानकारी दिएको छ ।
सरकारले जिल्लाका ५ वटा उच्च तथा मध्यमस्तरिय ठूला खानेपानी आयोजना र साना आयोजना गरी दुई प्रकारका आयोजनाहरुका लागि बजेटको व्यवस्था गरेको हो । आगामी आर्थिक वर्ष २०७३/०७४ का लागि सरकारले दाङमा पाँचवटा उच्च तथा मध्यमस्तरिय ठूला खानेपानी आयोजनाका लागि ५० लाखका दरले बजेट बिनियोजन गरेको छ ।
दाङको त्रिपुर नगरपालिकास्थित नारायणपुर खानेपानी आयोजना, घोराही नगरपालिकाको वडा नम्वर ७, ८ र ९ खानेपानी आयोजना, पञ्चकुले खानेपानी आयोजना, गोवरडिहा २, ३ र ४ खानेपानी आयोजना र जुरपनिया मैनतारा खानेपानी आयोजनाका लागि २ करोड ५० लाख बजेट बिनियोजन गरेको विभागले जानकारी दिएको छ ।
साथै दाङका विभिन्न स्थानका ९६ वटा खानेपानी आयोजनाको लागि पनि बजेट बिनियोजन भएको छ । खानेपानी आयोजनाहरुको सर्वेक्षणदेखि निर्माण तथा सञ्चालनका लागि बजेट खर्च गर्न लागिएको हो । ५० हजार देखि ६० लाख रुपैँयासम्मका ९६ वटा खानेपानी आयोजनाहरु आगामी आर्थिक वर्ष २०७३÷०७४ बाट सञ्चालन गर्ने खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दाङले बताएको छ । सरकारले दाङको ग्रामिण क्षेत्रमा खानेपानीको पहुँच पु¥याउने लक्ष्यअन्तर्गत आयोजनाहरु छनौट गरेको डिभिजन कार्यालयका प्रमुख जगन्नाथ पुर्वेले जानकारी दिनुभएको छ ।
कार्यालयका अनुसार हेकुली रानीवन, बंगलाचुली, पुरन्धारा हापुरे, गढवा, कटाहा सिम्लेधारा, चिसापानी, गहतेरा, सतवरिया, बराहखुट्टी, सिरिचौर, राजपुरलगायतका विभिन्न स्थानमा खानेपानीको सहज पहुँच पु¥याउने बारेमा आयोजना थाल्न सरकारले योजना सुरु गरिसकेको छ । तर, स्थानीयहरुको सक्रियताले आयोजना सञ्चालनको लागि निर्भर हुने प्रमुख पुर्वेको भनाइ रहेको छ ।
बसाईसराईका कारण जनघनत्वमा बृद्धि र बढ्दो सहरीकरणले दिनप्रतिदिन खानेपानीको अभाव सिर्जना हुँदै गर्दा सरकारले खानेपानी आयोजनाहरुका लागि कार्यक्रमलाई प्राथमिकतामा पार्ने गरेको छ । जिल्लाका प्रमुख सहरदेखि केही टाढा तर सहरका रुपमा विकास हँुदै गरेका स्थानहरुलाई मध्यनजर गरेर आयोजनाको कार्यक्रमलाई अगाडि बढाएको छ, भने दाङकै प्रमुख सहर तथा सहरोन्मुख क्षेत्रमा सञ्चालनमा रहेका पुराना खानेपानी आयोजनाको स्तरबृद्धि तथा विस्तारका लागि चासो देखाएको छ ।
अहिले नारायणपुर खानेपानी आयोजनाले साढे ६ सय घरधुरीलाई खानेपानी पु¥याउँदै आएको छ । त्रिपुर नगरपालिकाका रुपमा विकास भएको शहर र अन्य ग्रामिण क्षेत्रमा पर्याप्त पानी पु¥याउनको लागि सरकारबाट बिनियोजित बजेट खर्च हुने खानेपानी आयोजनाका अध्यक्ष कुलप्रसाद रजौरेले जानकारी दिनुभयो । त्यसका लागि पानी ट्यांकीको निर्माण, भवन निर्माण र पाइप लाइनको बिस्तारको क्षेत्रमा काम हुने उहाँले जानकारी दिनुभयो । ‘बजारको क्षेत्र विस्तार भएको हँुदा बजारमा र ग्रामिण क्षेत्रमा पनि पानी पु¥याउनुपर्ने अबस्था रहेको छ’, उहाँले भन्नुभयो, ‘त्यसका लागि भौतिक सुधारको काम हामीले गर्ने योजना बनाएका छौं ।’
करिव २५ वर्ष पुरानो पश्चिम दाङको खानेपानी आयोजनाको अहिले भर्खर व्यवस्थित गर्न सुरु गरिएको छ । १२ सय घरधुरी रहेको आयोजनाको स्तरबृद्धिका लागि सरकारले ५० लाख बजेट छुट्याएको छ । बजेटले के काम गर्ने भन्ने बारेमा अहिले कुनै निर्णय नभइरहेको आयोजना समितिका सचिव टंकराज रेग्मीले जानकारी दिनुभयो । समितिको बैठक अनुसार काम सुरु गर्ने उहाँले जानकारी दिनुभयो ।
‘अहिलेसम्म सबै लथालिंग अवस्थामा रहेको छ । यसको विकास गर्नै गाह्रो भएको छ । कसैले चासो पनि देखाएका छैनन्’, सचिव रेग्मीले भन्नुभयो, ‘कार्यसमिति तथा साधारण सभाबाट भएको निर्णय अनुसार नै हामी चल्ने हो । तर, अहिले नै कुनै योजना बनिसकेको छैन ।’ समाचार गणतन्त्र दैनिकले छापेको छ ।

Post a Comment