|
|
|
|
लघु जलविद्युत्त आयोजना संचालन गरि गाउँ झिलिमिली बनाएका गाउँलेहरु आयोजनामा क्षति हुँदा निराश भएका छन् । सोमवार राति परेको अविरल वर्षातका कारण बाईसमुल, झिमरुक र गौमुखी खोलाले दश किलोवाट क्षमताको सुशाउने लघु जलविद्युत्त अयाोजना, जुरढुंगा कोर्चे लघु जलविद्युत्त आयोजना र कालिमाटी लघु जलविद्युत्त आयोजनाको विद्युत्त उत्पादन गृह, पोल र तार बगाउँदा तीन आयोजना ठप्प बन्न पुगेका छन् ।
‘तीनै वटा आयोजना ठप्प हुँदा झण्डै चार सय घरधुरी प्रभावित भएका छन्’,सुशाउने लघु जलविद्युत्त आयोजनाका अध्यक्ष पुमलाल घर्तीले भने,‘लाखौँको क्षति भएको छ ।’ आयोजना ठप्प हुँदा अर्खा–१, २ र ३ नम्वर वडाका उपभोक्ताहरु प्रत्यक्ष प्रभावित भएको स्थानीय मित्रबहादुर थापाले जानकारी दिए ।
‘जिल्लामै १२ मेगावाट क्षमताको झिमरुक जलविद्युत्त आयोजना संचालन भएपनि त्यसको प्रयोग गर्न पाएका छैनौ’,उनले भने,‘गाउँलेकै लगानीमा संचालित लघु जलविद्युत्त आयोजना खोलाले बगाएपछि गाउँलेहरु अन्धाकारमा बस्न बाध्य छौं।’ आयोजना पूनःनिर्माण गर्न महिनौ समय लाग्ने हुँदा यहाँको दैनिक जनजीवन अस्तव्यस्त हुने उनले बताए ।
यसैविच, सोही ठाउँका विभिन्न स्थामा रहेका पुलहरु बाढीले बगाएको स्थानीय मित्रबहादुर थापाले बताए । कोर्चेघाटमा रहेको ‘डिपिएल’ पुल, ठूलाचौर–लुजवाङ जोड्ने घोरसाङ झोलुंगे पुल र झण्डै आधा काम सकिएको निर्माणधिन गन्छ्याङ खोला पुल खोलाले बगाएको छ ।
पुल बगाउँदा अर्खा माविमा पढ्नका लागि आवात जावात गर्ने विद्यार्थी, अर्खाको पिपलबोटमा बजार आवात जावात गर्ने सर्वसाधारण र स्वास्थ्य चौकीमा उपचार गर्न जाने विरामीहरु अप्ठेरोमा परेका छन् । उनीहरु जोखिमपूर्ण र घुमाउरोवाटो जानुपर्ने बाध्यता आइलागेको स्थानीयले बताए । तुलसीपुर अनलाइनबाट

Post a Comment