|
|
|
|
ठेकेदार कम्पनीले लिखित स्पष्टीकरणलाई समेत बेवास्ता गर्दै आएका छन् । सात दिनभित्र कारण पेस नगरे सम्झौता तोडी कालोसूचीमा राख्ने, ढिलाइका कारण बढ्ने लागत निर्माण व्यवसायीबाट असुलउपर गर्ने र सम्पत्ति रोक्का राख्ने चेतावनीसमेत सुनेको नसुन्यै गरिरहेका छन् । सरकारी निकायका त्यस्ता चेतावनी देखावटी मात्र छन् । एउटै योजना वर्षौं लम्बिँदा पनि कुनै निर्माण व्यवसायी कारबाहीमा परेका छैनन् । वर्ष दिनमै सम्पन्न हुनुपर्ने ०६८ सालदेखिका योजना अलपत्र छन् ।
घोराही, सोनापुर र रोल्पा सिमेन्ट उद्योगको खानीसम्मको पहुँच मार्ग, सल्यानको कपुरकोटदेखि रोल्पाको जिनाबाङसम्मको सडक, देवस्थल–डोल्पा, लमही–तुलसीपुर र अमिलिया–तुलसीपुर–सल्यान सडक अलपत्र छन् । थारमारेबाट सल्लीबजार, सल्यानबाट चौरजहारी र कालाखेतबाट दमाचौर जोड्ने सडकको हालत पनि उस्तै छ । राप्ती राजमार्गबाट गोल्टाकुरी जोड्ने सडकको तुही सोतामा कल्भर्ट, देउखुरीको पिपरी खोलाको पुल, लमही–तुलसीपुर सडकको कटुवा खोला र पत्रे खोलाका पुल निर्माण अगाडि बढेको छैन । कालाकाटे राजपुर सडकमा त सम्झौता भएको ६ महिना बितिसक्दा पनि काम सुरु भएको छैन ।
ठेकेदारले विभिन्न बहानामा काम लम्ब्याउने गरेको सडक डिभिजनका निमित्त प्रमुख जयन्द्रप्रसाद पौडेलले बताए । ‘कारबाही गर्ने भनेर सूचना निकालिन्छ, गर्न भने सकिएको छैन,’ उनले भने, ‘वर्षौंदेखि समयमा काम नसक्ने, अलपत्र छाड्ने र म्याद थप गरिराख्ने समस्या छ ।’ प्रक्रिया लामो भएकाले हालसम्म कुनै निर्माण व्यवसायीलाई कालोसूचीमा राख्न नसकिएको उनको भनाइ छ ।
लामो बन्द, इन्धन अभाव र ढुंगा बालुवा निकासीमा समस्याका कारण समयमै काम सम्पन्न गर्न नसकिएको जुद्ध एन्ड पूर्ण निर्माण सेवाका प्रोप्राइटर पूर्ण भण्डारीले बताए । जिल्ला प्राविधिक कार्यालय दाङका प्रमुख परशुराम बैदार देशको असहज परिस्थिति र ठेकेदारको लापरबाहीका कारण योजना सम्पन्न गर्न ढिला हुने गरेको बताउँछन् ।
स्थानीय विकास अधिकारी रमेश गौतम प्राविधिक कार्यालयबाट कारबाहीको सिफारिस भए निर्माण व्यवसायीलाई तत्काल कारबाही गरिने बताउँछन् । तर, न बैदार सिफारिस गर्छन्, न त गौतमले कुनै कम्पनीलाई कारबाही गरेका छन् । एउटै निर्माण व्यवसायीले पाँचभन्दा बढी योजना अलपत्र पारेका छन् । एउटै व्यवसायीले धेरै योजना लिने र समयमा सम्पन्न नगर्ने समस्या धेरै देखिन्छ । केही ठेकेदारले लाखौं पेस्की लिएर पनि बिलभर्पाइसमेत पेस गरेका छैनन् ।
ठेकेदार सम्पर्कविहीन
सुर्खेत वीरेन्द्रनगरस्थित कटकुवा स्वास्थ्य चौकी भवन निर्माण ०६९ चैत २१ भित्रै सकिनुपर्ने थियो । तर, क्षेत्रीय सदरमुकामकै स्वास्थ्य चौकी म्याद नाघेको तीन वर्षसम्म पूरा भएको छैन । उक्त भवन निर्माणको जिम्मा जीएम कन्स्ट्रक्सन प्रालिले लिएको छ ।
सोही कम्पनीले सुर्खेत कारागार र जाजरकोटको दल्ली स्वास्थ्य चौकी भवन निर्माण पनि म्याद थपसहित ०७० चैत मसान्तमा सम्पन्न गर्नुपर्ने थियो । कारागारको ४८ र दल्ली स्वास्थ्य चौकी भवनको काम ४० प्रतिशतमात्र पूरा भएको छ ।
मैनाचुली/सुरुची जेभीले जाजरकोटमा प्रसूति कक्ष निर्माणको जिम्मा लिएको थियो । उक्त काम ०७० चैत मसान्त र सुर्खेतको गुटुस्थित स्वास्थ्य चौकी ०७१ मंसिरभित्र सक्नुपर्ने थियो, दुवै अलपत्र छन् ।
यस्तै, महादेव/मल्ल जेभीले जिम्मा लिएको सुर्खेत खानीखोलाको स्वास्थ्य चौकी भवन ०७० असार मसान्तमा सक्नुपर्ने थियो, ६५ प्रतिशत काम सकेर स्थगित छ । सुर्खेत अवलचिङस्थित प्राथमिक स्वास्थ्य केन्द्र भवन ०७० पुस ५ मा सक्नेगरी फ्रेन्ड्स कन्स्ट्रक्सन प्रालिले ठेक्का लिएको थियो, हालसम्म २९ प्रतिशतमात्र काम भएको छ ।
फ्रेन्डस कन्स्ट्रक्सनले निर्माणको ठेक्का लिएको जाजरकोटस्थित अस्पतालको भवन ०७० मंसिर २५ मा सक्नुपर्नेमा बल्ल ३२ प्रतिशत काम भएको छ । सोही कम्पनीले जाजरकोटको मजकोटस्थित स्वास्थ्य चौकी भवन ०७० कात्तिक ६ मा हस्तान्तरण गर्ने गरी ठेक्का लिएकामा एक चौथाइ पनि काम भएको छैन ।
काम पूरा नगरी लामो समयदेखि निर्माण व्यवसायी सम्पर्कविहीन भएपछि सहरी विकास तथा भवन डिभिजन कार्यालयले हालै १५ दिने सूचना प्रकाशित गरेको छ । लामो समयदेखि सम्पर्कविहीन १६ ठेकदार कम्पनीको नाम उक्त सूचनामा उल्लेख छ । अधुरो काम पूरा गर्न र सम्पर्कमा नआए कारबाही गर्ने सूचना सार्वजनिक भएपछि केही निर्माण व्यवसायी सम्पर्कमा आएको इन्जिनियर थम्बराज श्रेष्ठले बताए ।
ठेक्का तोडेर असुली
ठेक्का सम्झौताअनुसार काम पूरा नगरी लामो समय सम्पर्कविहीन बनेपछि जीएम कन्स्टक्सनसँग क्षेत्रीय विपत् व्यवस्थापन सामग्री गोदाम घरको निर्माण ठेक्का तोडिएको छ । उक्त कम्पनीले दुई करोड ९८ लाख ५४ हजारमा निर्माण सम्झौता गरेको थियो ।
करिब ५० प्रतिशत काम पूरा गरी एक करोड ७० लाख ८० हजार भुक्तानी लिएपछि व्यवसायी सम्पर्कविहीन बनेका थिए । पटक–पटक सम्पर्क गर्दासमेत नभएपछि कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस पनि गरिएको छ । ‘अति भएपछि सम्झौता तोडेर निर्माण व्यवसायीबाट असुल गर्नेतर्फ लागिएको हो,’ जिल्ला प्रशासन सुर्खेतका अधिकृत हितप्रसाद पौडेलले भने ।
यस्तै, लोकसेवा आयोगको भवन निर्माण लामो समयदेखि अलपत्र परेपछि फ्राइन्ड्स कन्स्ट्रक्सन प्रालिसँगको सम्झौता तोडिएको छ । भवनको फिनिसिङ बाँकी रहेकाले ठेक्का तोडेर पुन: आह्वान गरिएको आयोग क्षेत्रीय कार्यालयका निर्देशक पूर्णमान श्रेष्ठले जानकारी दिए ।
राष्ट्रिय गौरवकै आयोजना प्रभावित
निर्माण व्यवसायी सम्पर्कविहीन हुँदा राष्ट्रिय गौरवको पुष्पलाल मध्यपहाडी मार्ग आयोजनाको काम प्रभावित भएको छ, दैलेख खण्डमा कामको गति शून्य छ । आयोजना (पश्चिम खण्ड) को तुल्सीपुर कार्यालयका अनुसार दैलेख खण्डमा तीन वर्षसम्म सात निर्माण कम्पनी सम्पर्कविहीन भए । जसले गर्दा प्रारम्भिक चरणको कामसमेत अधुरो छ । सम्पर्कविहीन हुने ती कम्पनीलाई आयोजनाले ‘अन्तिम मौका’ दिएको छ ।
०६६/६७ देखि दैलेख सदरमुकामदेखि लैनचौर खण्डमा सूर्य एन्ड सन्स/खानी/पुष्पाञ्जली जेभी, सूर्य एन्ड सन्स/खानी/धुलिखेल, एपेक्स/खानी/धुलिखेल, ०६७/६८ देखि कार्यरत लोहोरे–बेस्तडा खण्डमा कन्काइ/कबिर थापा जेभी र रौताहा कन्स्ट्रक्सन कार्यरत छन् । इन्जिनियर जगवीर साहले ठेकेदारहरू बल्ल सम्पर्कमा आएको बताए । मूल ठेकेदारले पेटी ठेक्का दिएकाले निर्माण प्रभावित भएको हो । दोस्रो पक्षले तेस्रोलाई काम जिम्मा दिनु नै पेटी ठेक्का हो । -(दुर्गालाल केसी/दाङ, मोतीलाल पौडेल/सुर्खेत र प्रकाश अधिकारी/दैलेख) ekantipur.बाट साभार

Post a Comment