|
|
|
|
तत्कालिन द्वन्द्वको समयमा असुरक्षाको कारण देखाउदै २०५६ फागुन ६ गते इलाका प्रहरी कार्यालय घर्तीगाउँ विस्थापित भएपछि यहाँ रहेका सबै इलाका कार्यालयहरु पनि विस्थापित भएका थिए । तर देशमा शान्ति प्रक्रिया सुरु भएको १० बर्ष पुग्न लाग्दा पनि प्रहरी कार्यालय बाहेक अन्य कुनै पनि इलाका कार्यालयहरु पुनःस्थापना भएका छैनन् ।
इलाका कार्यालयहरु पुनःस्थापना नहुँदा रोल्पा जिल्लाको निर्वाचन क्षेत्र नं. २ अन्तरगतका करिब २० गाविसका स्थानीयहरुलाई जग्गा पास गर्न, नागरिकता बनाउन, पासपोर्ट लगायत सामान्य शिफारिश बनाउनको लागि दुई,तीन दिन लगाएर सदरमुकाम लिबाङ जानुपर्ने बाध्यता रहेको छ ।
नागरिकता बनाउनका लागि अभिभावक अनिवार्य जानुपर्ने भएकाले कहिले काही बृद्ध, बृद्धा आमा बुवालाई बोकेर सदरमुकाम लग्नु पर्ने अवस्था भएको स्थानीय देबराज वलीको गुनासो छ ।
स्थानीयहरुले ईलाका प्रशासन कार्यालय पुनःस्थापनाका लागि पटक–पटक सर्वदलिय रुपमा जिल्ला प्रशासन, जिविस लगायतका निकाय माग गर्दा पनि हालसम्म कतैबाट सुनुवाई नभएको घर्तीगाउँ गाविसका पूर्व अध्यक्ष गोपाल घर्तिको भनाई छ ।
स्थानीयको माग अनुसार इलाका प्रशासन कार्यालय पुनःस्थापनाका लागि मन्त्रालयमा पहल भएको तर कर्मचारी अभावमा इलाका कार्यालय पुनःस्थापना गर्न नसकिएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताए ।
देशमा शान्ति प्रक्रिया सुरु भएको लामो समयसम्म पनि सम्बन्धीत निकायको बेवास्ताका कारण यस्ता इलाका कार्यालयहरु पुनःस्थापना हुन नसक्दा गाउँ गाउँका सर्बसाधारण जनताहरुले दुःख पाइरहेका छन् । जनताका लागि सेवा दिने कार्यालयहरु जनताको पहँुचमा पुग्नु पर्दछ ।

Post a Comment