|
|
|
|
महाकवि लक्ष्मिप्रशाद देवकोटाले पनि भनेका छन् ‘ज्यूँदै म¥याएका भनि नाम कस्को उद्यम विना वित्दछ काल जस्को’ जसले मानव जीवनमा कामको महत्व स्पष्ट पार्छ । सल्यानकी यी आमाको मेहनत त्यसैको एउटा गतिलो उदाहरण हो । बाँस वा निगालो बाट चोया निकाल्नु अनि डोको बन्नु र त्यसलाई बजारमा बेच्नु उनको दैनिकी हो ।
साँझ विहानको हातमुखको जोहो उनले यसैबाट गर्दै आएकी छिन । ‘उमेर अनुसारको काम मैले गरेकी छु’ जिल्लाको धनवाङ ४ की ६० वर्षीया समुन्द्रा पुनले भनिन्, ‘अरु भारी बोक्ने जस्ता कडा खालको काम गर्न सकिदैन, डोका, भकारी हातले बुनेर (तयार गरेर) घर खर्च चलाएका छौँ ।’ समुन्द्राले बाँस तथा निगालाको चोया आफै काट्छिन अनि भकारी , डोको बन्ने गर्छिन ।
‘डोका तथा राङ्गे बुन्न नसक्ने होइन तर मेरो श्रीमानले डोका तथा राङ्गे बुन्नुहुन्छ, मैले त्यसमा सारिम लगाउँछु, दुबै मिलेर काम गर्दा छिटो पनि र सजिलो पनि हुन्छ’ उनले अनुभूति बाँडिन । आफुहरुले विगत २५ ÷३० वर्ष देखि चोयाचेत्रोको काम गर्दै आएको ६३ वर्षीय सुमुन्द्राका श्रीमान गणेश पुन बताउँछन् ।
गाउँ घरतिर डोको, भकारी बुन्ने र चोयाको काम गर्नेहरु विस्तारै हराउँदैछन् । पानी बोक्न, घाँस, दाउरा, स्याउला बोक्न, बारिमा मल बोक्न लगाएतका काममा राङ्गे डोकाको प्रयोग हुन्छ । त्यस्तै धान भण्डारण गरेर राख्न भकारी प्रयोग हुन्छ ।
समुन्द्राले निर्माण गरेका भकारी, डोकाको माग गाउँमै मात्रै हैन दाङ लगायत विभिन्न जिल्लाहरुमा पुग्दछ । समुन्द्रा भन्छिन्, ‘हामीले बुनेका डोका दाङमा र सल्यानका भकारी लुहाम तथा दारिमज्युला सम्म लगेर विक्रि गर्ने गछौँ ।’ एउटा डोका ४ सय सम्म र भकारी १८ सय सम्ममा विक्रि हुने गरेको उनले जानकारी दिइन । आकार हेरेर मुल्य निर्धारण गर्ने गरेको पुनले बताए ।
महिनामा ५० वटा जती डोका र कार्तीक मंसिरको सिजनमा २५ वटा सम्म भकारी विक्रि गर्ने गरेको समुन्द्रा बताउँछिन् । ‘चोयाँको लागि बाँस तथा निगाल हाम्रै बारिमा छ, त्यसैबाट डोका तयार पारेर विक्रि गर्छौँ, घर खर्च पुगेकै छ ’, उनले भनिन् ।
हात पाखुरी चलुन्जेल सम्म सक्दो काम गर्नु राम्रो हो । आफुले डोको भकारी बुनेको देख्नेहरु अचम्म मानेर सोध्नेहरु पनि प्रसस्तै भेटेको उनले बताइन । अवसर पाएमा पुरुषले गर्न सक्ने काम महिलाहरुले सहजै गर्न सक्ने समुन्द्राले तर्क छ । क्षमताको विकास भए काम जस्ले गरेपनि हुने उनले बताइन ।

Post a Comment