Headlines News :
Home » » प्युठानकि यी ११ वर्षीया नाबालिकाले गरिन् रातभरी पहिरोसँग संघर्ष

प्युठानकि यी ११ वर्षीया नाबालिकाले गरिन् रातभरी पहिरोसँग संघर्ष

Written By Unknown on Tuesday, July 5, 2016 | 10:35 PM


असार २२, प्युठान । राति एक्कासि घरभित्र पहिरो आएको थाहा पाएपछि ११ वर्षीया सरस्वती मल्ल हत्तपत्त उठिन् ।

उनी उठ्दा भुइँमा सुतेका बाबु, आमा र बहिनीहरू आधा डुबिसकेका थिए । सरस्वतीले खाटमा सँगै सुतेका भाइलाई पहिले झ्यालबाट बाहिर निकालिन् । अनि आधा शरीर डुबिसकेका बाबुलाई तान्न खोजिन् । केही जोर चलेन । फेरि टाउको मात्रै देखिएकी आमालाई अँध्यारोमा छामछुम गर्दै निकाल्न खोजिन्, तैपनि जोर चलेन । बहिनीहरूलाई त उनले बिहान मात्रै पुरिएको देखिन् ।




‘बालाई तानें, निकाल्नै सकिनँ', मंगलबार दिउँसो लहरै सुताइएका आमा, बाबु र बहिनीहरूको शव हेर्दै भक्कानिइरहेकी सरस्वतीले भनिन्, ‘बहिनीहरू सप्पै पुरिइसकेका रैछन्, बिहानमात्रै देखिए ।' करिब २ बजेतिर उनी चिच्याउँदै बाहिर निस्केपछि गाउँले जम्मा भएका थिए ।

साँझ उनीहरू घरभित्र भुइँमा लहरै सुतेका थिए । सोमबार दिउँसैदेखि घनघोर पानी परिरहेको थियो । प्युठानको रजवारा ३ की सरस्वती र उनका ९ वर्षीय भाइ खाटमा सुतेका थिए । बुबा, आमा र तीन बहिनी लहरै भुइँमा सुतेका थिए । दुई दाजु भने आफन्तका घरमा गएका थिए ।

आफन्तका घरमा सुत्न गएका उनका जेठा दाजु १४ वर्षीय वसन्त मल्लले पनि बिहान मात्रै यो सबै थाहा पाए । साँझ सँगै सुतेका तीन बहिनी र बाबुआमा बिहान आउँदा शव बनिसकेका थिए । उनैले बाबु, आमा र बहिनीहरूको किरिया गर्ने भएका छन् । ‘दाइहरू अन्त सुत्न गएका थिए । म र भाइ खाटमा सुत्यौं । आमाहरू तल भुइँमा सुत्नुभयो', सरस्वतीले भनिन् ‘राति केके भयो, केही थाहा पाइनँ । बहिनीहरू रोएको मात्रै सुनें । आमा पनि टाउको मात्रै देखाएर रोइरनुभा'थ्यो ।'

सरस्वतीको परिवारमा ९ जना थिए । चार दिदीबहिनी, तीन दाजुभाइ, बुबा र आमा । बुबाआमा र तीनजना बहिनीलाई पहिरोले पुरेपछि अब यी नाबालक मात्रै छन् । गाउँले र आफन्तले उनीहरूलाई आ श्रय दिइरहेका छन् । उनीहरू सबै एकदुई वर्षको अन्तरमा जन्मिएका हुन् । ‘खै, कतिबेला आमाहरूलाई पुरिसकेको रैछ, मैले पनि केही चाल पाइनँ । भाइ रुन थालेपछि बल्ल उठें', सरस्वतीले भनिन्, ‘गाउँमा चिच्चाउँदै दौडें अनि बल्ल मान्छे आए ।'

सोमबार राति खसेको पहिरोमा परी उनका बाबु ४१ वर्षीय दुर्गा मल्ल, आमा सीता मल्ल, बहिनीहरू १० वर्षीया सुशीला मल्ल, ४ वर्षीया लेखा मल्ल र ४ वर्षीया सिर्जना मल्लको ज्यान गएको हो । सदरमुकामबाट रजवारासम्म पुग्नका लागि यातायातको समेत पहुँच छैन । बिहान प्रहरीले घटनाबारे थाहा पाएपछि सदरमुकामबाट प्रमुख जिल्ला अधिकारी जनकराज पन्त, जिल्ला प्रहरी प्रमुख डीएसपी रञ्जितसिंह राठौरलगायतको टोली त्यहाँ पुगेको थियो । सदरमुकामबाट आधा बाटो गाडीमा गए पनि घटनास्थलसम्म पुग्न करिब ६ घन्टा लाग्छ ।


गत वर्ष रजवारा गाविसका ३ र ४ नम्बर वडाका गाउँ जोड्न नयाँ बाटो खनिएको थियो । पहाडको फेदमा खनिएको यो कच्ची बाटोलाई यस वर्ष पनि थप मर्मत गरिएको थियो । पानी पर्न थालेपछि यो बाटोमा पहिरो खस्न थालेको हो । सोही बाटोको मुनितिर पाखोमा दुर्गा मल्लको घर थियो । अविरल परेको पानीले ढिस्को भत्किएर उनको घर पुगेको हो । पहिरोले घरको कच्ची माटोको भित्ता भत्काएपछि परिवारका सदस्यलाई पुरेको थियो । त्यो बाटोमुनि उनको मात्रै घर थियो । गाउँका अरू घरहरू भने केही टाढाटाढा छन् । उनको गोठमा भएका सबै गाइगोरु पनि पहिराले लगेको छ ।

‘बिहानैदेखि रातभरि पनि पानी परिरहेको थियो । त्यत्रो पानी बाटोमा अटेन', स्थानीय पार्वती मल्लले भनिन्, ‘त्यो पानीले निकास खोज्दै जाँदा लेदो माटो बगाएर उहाँको घर पुरेको रहेछ ।' उनका अनुसार ११ वर्षीया सरस्वती राति २ बजेतिर रुँदै र चिच्याउँदै गाउँमा हिँडेको थाहा पाएपछि उनी आफैंले गाउँलेलाई बोलाएकी थिइन् । नाताले पार्वती सरस्वतीकी भाउजू पर्छिन् । ‘उहाँले बाआमालाई पनि तान्नुभएछ ।

बहिनीहरू त माटोले पुरिइसकेका रैछन्', पार्वतीले भनिन्, ‘बिचरी त्यत्ति सानी बालखको के जोर लाग्थ्यो र, हेर्दाहेर्दा सबै परिवारै लग्यो ।' त्यस्तै उत्तरी प्युठानकै पूजा गाविस ३ मा पनि पहिरोले पुर्दा एकै परिवारका ३ जनाको ज्यान गएको छ । प्रहरीका अनुसार मंगलबार बिहानै खसेको पहिरोले स्थानीय हुमबहादुर सुनार, उनकी पत्नी खसी सुनार र ७ वर्षीया छोरी सीमाको मृत्यु भएको हो । पहिरोले उनीहरूको घर पुरेको छ ।

प्युठानका प्रमुख जिल्ला अधिकारी पन्त दुवै घटनास्थल पुगेर तत्कालीन राहत वितरण गरेका छन् । उनका अनुसार मल्ल परिवारमा बाँचेका ४ जना नाबालकलाई उनीहरूकै हजुरआमाको जिम्मामा छोडिएको छ । ‘उनीहरू सबै नाबालक छन् । तत्काल लत्ताकपडा, खानेकुरा दिएर फर्किएका छौं', पन्तले भने, ‘उनीहरूलाई व्यवस्थापन गर्नका लागि सरकारको कुनै त्यस्तो नीति छैन । हामीले संघसंस्थासँग समन्वय गरेर पहल गरिरहेका छौं ।'

पन्तले पूजा गाविसका अन्य १० वटा घरसमेत पहिरोको जोखिममा रहेको बताए । ती घरका बासिन्दालाई त्यहाँ नबस्न सुझाव दिइएको पनि उनले बताए । अन्नपुर्ण पोस्ट अनलाइनबाट साभार

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger