|
|
|
|
दाङको तुलसीपुरबाट सल्यान हुँदै रुकुमसम्मको यो राजमार्गमा ठूला खोलामा समयमै निर्माण हुनु पर्ने पुल नबन्दा गाडी बाटोमै अलपत्र पर्न थालेका छन् । तीन वर्ष अगाडि टेण्डर भएर काम सुरु भएका पुल यो वर्ष पनि निर्माण नहुँदा यात्रुलाई सास्ती भएको हो ।
झण्डै एक सय ६० किलोमिटर लामो सडकखण्ड कालोपत्रे भएको चार वर्ष बितिसक्दा पनि पुल तयार नहुँला यात्रुलाई समस्या भएको छ । सरकारी प्रक्रियाका कारण ढिला गरी टेण्डर भएका सल्यानको अरिगाले फेदी, चाख्लीघाट र थारमारे खोलामा निर्माण हुनु पर्ने पुल समयमै नबनेका हुन् ।
सडक डिभिजन कार्यालय रुकुम चौरजहारीको कार्यक्षेत्रमा पर्ने यी पुलमा झण्डै पाँच करोड रुपैयाँ बराबरको खर्च भएको छ । सुर्खेतको डि लाइट एचविएच ठेकेदार कम्पनीले निर्माणको जिम्मा लिए पनि समयमै काम सुरु गरेन । सरकारी प्रक्रिया झन्झटिलो र ठेकेदार कम्पनीले ढिला गरी काम सुरु गर्दा समयमै पुल नबनेको एक प्राविधिकले बताए ।
सुरुमा पुल महाशाखाबाट टेण्डर गरी काम सुरु गरिएपनिपछि सडक डिभिजन कार्यालय चौरजहारीको जिम्मामा पुल आएका छन् । अहिले सम्झौता अनुसार कामलाई तीब्रता दिएको सडक डिभिजन कार्यालय चौरजहारीका लेखा अधिकृत नविनकुमार खड्काले जानकारी दिनुभयो ।
अहिले २५ मिटर लम्बाइको थारमारे पुलमा सबैभन्दा बढी गाडी र यात्रुले सास्ती झेल्नु परेको छ । विभिन्न स्थानबाट रुकुमका लागि छुटेका यात्रुबाहक तथा मालवाहक गाडी यहाँ फस्ने गरेका छन् । पाँच करोड बजेटबाट २५ मिटर लम्बाइको अरिगाले फेदी, २५ मिटर लम्बाइको चाखली घाट र थारमारको पुल, २० मिटर लम्बाइको रुकुमको सिम्रुत खोलामा पुल निर्माण हुनु पर्नेसडक डिभिजन कार्यालयले जानकारी दिएको छ ।
सिम्रुत खोलामा पुल निर्माणका लागिसर्भे भएपनि अन्तिम टेण्डर भएको छैन । अन्य तीन वटाको पुलमहाशाखाबाट २०६९ र २०७० को आर्थिक वर्षमा टेण्डर भएको हो । त्यसमध्ये ठेकेदार कम्पनीले चाख्ली घाटमा र थारमारेमा ५० प्रतिशत काम सकेका छन् भने अरिगाले फेदीमा दुई प्रतिशत पनि काम भएको छैन । उज्यालो अनलाइनबाट

Post a Comment