Headlines News :
Home » » फ्री भिषा-फ्री टिकटको बास्तबिक कहानी (मैले जे भोगें)

फ्री भिषा-फ्री टिकटको बास्तबिक कहानी (मैले जे भोगें)

Written By Unknown on Saturday, July 9, 2016 | 6:09 AM


बालिका कुँवर । नवलपरासी । यो मेरो शतप्रतिसत मैले भोगेको सत्य घटना हो, कुनै बनावटी कहानी होइन । मेरा सम्पूर्ण डकुमेन्ट र पासपोर्ट अहिले पनि मेनपावरमा नै छन् ।



मेरो श्रीमान् सुगरको दिर्घरोगि बिरामी हुनुहुन्छ । कुनैपनि काम गर्न सक्नुहुन्न, मैले श्रीमानको उपचार गर्न र दुइजना छोरा-छोरी पढाउन अनि घर खर्च चलाउन स्वदेशमा कुनै उपाए देखिन । श्रीमानको उपचारमा धेरै ऋण लाग्यो, जुन स्वदेशमा बसेर तिर्न सम्भव भएन । त्यसपछि मैले विदेश जाने निर्णय गरें । तर छ कक्षासम्म मात्र पढेको र कुनै सिप पनि नभएकाले भनेजस्तो काम पाउन सकिएन ।

धेरै म्यानपावर धाएँ, अन्तमा एकजना एजेन्टले म राम्रो काम मिलाईदिन्छु भनेकाले पासपोर्ट बुझाएँ । तर दलालले काम पनि मिलाउन सकेन र पासपोर्ट फिर्ता पनि दिएन । जति फोन गरेपनि पासपोर्ट लिन सकिएन । मेरो फोन नै उठाउदैंन, अर्को नम्बरबाट गर्यो भने बोलि चिन्यो कि काटिदिन्छ । अन्त्यमा एकजना दाइले उसको मोबाइलमा यस.एम.एस गरेर ५ हजार दिन्छु, पासपोर्ट दिनुहोस भने पछि १० हजार दिने भए पासपोर्ट दिन्छु भन्यो । बार्गेनिङ्ग गर्दा-गर्दा ७ हजारमा दिन राजि भयो । अर्को बनाउने झंजट गर्नु भन्दा यो नै सस्तो पर्ने लागेर सात हजार तिरेर पासपोर्ट बल्ल-तल्ल फिर्ता लिएँ ।

म्यानपावर र दलालबाट भनेजस्तो काम पाउन नसकेपछि मैले चिनेजानेका आफन्त मार्फत विदेश कोशिस गर्न थालें । अनि एकजना चिने-जानेको दाइले दुबई नजिकै अजमान भन्ने ठाउँमा पाँच तारे होटलमा टेलरको काम मिलाइदिनुभयो । आफुले टेलर काम जानेकाले त्यो काम मेरो लागि धेरै राम्रो लाग्यो । तर होटलले हामी नेपालबाट मान्छे ल्याउन सक्दैनौ । बरु भिजिट भिसामा आउने भए राख्छौं भन्यो ।

होटलले यो पनि भन्यो ‘नेपालबाट मान्छे ल्याउन गाह्रो छ, हामि ४ चोटी नेपाली एम्बेसी आबुधाबी धाउन सक्दैनौं । यो मिलेन र त्यो मिलेन भनेर फ़र्काउछ । हामीलाई स्टाफ राख्न्न परे यहीं भिजिट भिसामा आएका नेपालीहरु जतिपनि पाइन्छ, अनि हामि किन नेपाल देखि यत्रो खर्च र झन्जट गरेर मान्छे मगाउने ?’ बल्ल-तल्ल होटललाइ सर्त गरेर मनाइयो । होटलले भिसा र प्लेन टिकट मात्र दिने बाँकी काम नेपालमा एउटा म्यानपावर समातेर आफै श्रम गर्ने सर्तमा ।


अनि अफरलेटर (कन्ट्रयाक पेपर) सहि गरेपछि होटलले भिषा अप्लाइ गरिदियो । त्यसपछि भिषा पनि निस्कियो । तर पुर्बस्वीकृति बिना मेनपावरले मान्छे पठाउन मिल्दो रहेनछ । अनि आफन्त दुबईमा नभई व्यक्तिगत श्रम गर्न पनि मिल्दो रहेनछ । आफ्नो रगतको नाता पर्ने दुबईमा कोहि थिएन, यदि सजिलै श्रम हुनेभए त म श्रममा लाग्ने सात हजार जति तिरेपछि दुबई पुगेर पाँचतारे होटलमा काम गर्न पाउने थिएँ । जुन शुल्क मेरा लागि यहाँको समस्या भन्दा ठूलो कुरा थिएन । अनि श्रम गर्न धेरै म्यानपावर धाएँ तर उताबाट सबै डकुमेन्ट नआई हाम्रो केहि लाग्दैन भनेर फर्काए । मैले अफरलेटर र भिषा कपि देखाएँ । त्यो बाहेक के चाहिन्छ मलाइ केहि थाहा थिएन । अनि बल्ल-बल्ल बाँकी डकुमेन्ट मगाउने सर्तमा एउटा म्यानपावर श्रम गर्न राजि भयो ।

त्यसपछि म्यानपावरले होटललाई इमेल गरेछ, यो-यो डकुमेन्ट बनाइदिनु हामी कसैलाई उक्त डकुमेन्ट लिएर नेपाल एम्बेसी पठाउने व्यवस्था गर्छौ भनेर । त्यसपछि म्यानपावरले भने अनुसारको सबै डकुमेन्ट होटेलले बनाइदियो । अनि उक्त ५ थरि डकुमेन्टमा अजमान चेम्बर अफ कमर्सको छाप लगाएर राजदुतावास पठाइयो । भिषामा भने चेम्बर र एम्बेसीको छाप नचाहिने रहेछ । पाँच पेज डकुमेन्ट चेम्बेरमा छाप हान्दा प्रति पेज ने रु. १५०० लाग्दो रहेछ जम्मा गरेर चेम्बरमा मात्र रु ६ हजार जति सकियो ।

(एम्बेसीमा प्रति पेज रु ४,५०० = २२ हजार जति लाग्यो) अनि गएर कुरियर गर्दा, एम्बेसी जाँदा आउँदाको खर्च गरेर ४० हजार जति खर्च भयो । दुबईको होटलले भनेको थियो – ‘एम्बेसीमा छाप हानेर प्रमाणित भएपछी पनि पुन: देखाउनु अनि नेपालमा त्यति गरे पुग्छ कि पुग्दैन ? दोहोरो दु:ख नहोस । हाम्रो मान्छेले एम्बसीबाट फर्कने बेलामा पुन: डकुमेन्ट देखाएछन् सर यत्ति भए पुग्छ ? एम्बेसीको मान्छेले यत्तिनै हो जानुस भनेछन् । अनि उक्त डकुमेन्ट कुरियर गरेर नेपाल पठाइयो । एम्बेसी जाँदा-आउँदाको खर्च र कुरियर खर्च छ हजार जति सकिएछ । तर जब श्रम स्वीकृति लिन म्यानपावरको मान्छे मेरो डकुमेन्ट लिएर श्रम बिभाग पुगेछन तब एउटा डकुमेन्ट फेरी पुगेन भनेर श्रम स्वीकृति दिनै मानेनछ । यति गर्दा मेरो ४५ हजार जति खर्च भईसकेको थियो ।

अनि एउटा डकुमेन्ट पुगेन भनेर होटललाई भनियो तर होटलले हामीले त दीइसकेको छ एम्बेसीमा छुट्यो होला भन्यो । सबैको डिउटी हुँदोरहेछ भन्नेबित्तिकै एम्बेसी जाने मान्छे नपाइने । अनि आफ्नै बस खर्चमा एम्बेसी चेक गर्न एक जना मान्छे पठाइयो । एम्बेसी जाने मान्छे खोज्दा खोज्दै ७ दिन त्यसै बित्ने । एम्बेसीले डकुमेन्ट सबै लागिसकेको छ, हामीले अनलाइनमा तपाइँको रेकर्ड समेत श्रमलाई पठाइसकेका छौं भन्यो’ ।

फेरी श्रमलाई भनियो तर त्यो डकुमेन्ट नभई हुँदैन भनेर मान्दै मानेन । त्यसपछि प्रधानमन्त्रीको सल्लाहकार बिष्णु रिमालसँग ‘यस्तो-यस्तो पर्यो सर केहि हेल्प हुन्छ कि’ भनेर आफन्त मार्फत कुरा गर्दा बिष्णु सरले ‘फलानोलाई सम्पर्क गर्नुस’ भनेर एउटा नम्बर दिनु भएको थियो तर त्यो मान्छेले डकुमेन्ट बिना केहि नहुने भनेपछि छुटेको वा हराएको डकुमेन्ट फेरी बनाउने तिर लागियो । अनि फेरी बल्ल-बल्ल एम्बेसी जाने मान्छे खोजेर डकुमेन्ट लिएर गइयो ।

अनि राजदुत झा सरसँग सर यस्तो-यस्तो समस्या पर्यो भनेर भनेपछि ‘ठिक छ डकुमेन्ट दिनुस्, हामी गरिदिन्छौं’ भन्नुभयो । साथमा अर्को एउटा पेपर पनि थियो । जसमा श्रमले भने अनुसार केहि कुरा थप्नु पर्ने थियो । अनि एम्बेसीको कर्मचारीहरुले यो पेपरमा चेम्बरको छाप भए पुग्छ एम्बेसीको चाहिन्न भनेर एउटामा मात्र छाप लगाइदिनु भयो । शंका लागेर २ जनासंग सोधेको दुबै जनाले एम्बेसीको छाप लगाउन नपर्ने कुरा गर्नुभयो । त्यसपछि उक्त्त २ डकुमेन्ट नेपाल पठाइयो ।

तर नेपाल श्रमले यो एउटा त ठिक छ तर एउटामा एम्बेसीको छाप खोइ ? भन्यो । अनि मैले सर एम्बेसीले नै चाहिन्न भन्यो हामिले के गर्नु सर !, श्रमको मान्छेले एम्बेसीले भनेर हुन्छ ? चाहियो भनेपछि मगाउनुस न भन्यो । फेरी तुरुन्त एम्बेसी जान र नेपाल पुगेको पेपर मगाउन सक्ने कुरा भएन । होटललाई नै माग्न उचित लाग्यो । होटलले २ चोटी दिईसक्यौं फोटोकपि हुन्छ भने लानुस भन्यो । ओर्जिनल त नेपालमा छंदैछ यहि कपि भएपनि एम्बेसीको छाप हानेर पठाए त होला नि भनेर फेरी एम्बेसी गईयो । तर एम्बेसीले फोटोकपी प्रमाणित हुँदैन ओर्जिनल ल्याउनुस भनेर फर्काइदियो । यतिन्जेल २ महिने इन्ट्री भिषाको म्याद सकिन १ हप्ता मात्र बाँकी थियो ।

डकुमेन्ट मिलेन भनेर ४ चोटी एम्बेसी धाईयो । अनि कोशिस गर्दा-गर्दै मेरो भिषाको मिति सकियो र बल्ल-बल्ल पाएको काम गुम्यो । अनि फेरी होटललाई भिषा अप्लाई गरिदिन अनुरोध गरेको तर उसले भन्यो- ‘एक चोटी मात्र हो, हामीले भिषाको पैसा तिर्ने । अब भिषाको पैसा पठाउने भएमात्र भिषा अप्लाई हुन्छ । तर भिषा क्यान्सिल भएको एक महिना अगाडी भिषा अप्लाई गर्न मिल्दैन भन्यो ।

तर एम्बेसीले छाप लगाएको डकुमेन्ट २ महिना पछि नेपालमा काम लाग्दैन भनेर म्यान पावरले भन्यो । लगभग ५० हजार जति खर्च गरियो तर कुनै डकुमेन्ट अर्को भिषा अप्लाई गर्दा काम लाग्दैन रे ! न अलि-अलि खर्च गरेर आफै गर्न सक्छुकी श्रम भनेर फेरी मेडिकल गरेर इन्स्युरेन्स गरें । एक हजार राजश्व पनि तिरें । गर्नपर्ने सबै गरें । एक हप्तामा पनि केहि हुन्छ कि भनेर ! पुन: ७ हजार खर्च भयो तर श्रम दिन मानेनन् । मात्र एउटामा एम्बेसीको छाप नहुनाले । यो एम्बेसीको लापरबाही र गैर जिम्मेबार काम थियो ।

अब फेरी सबै डकुमेन्ट बनाउन रु ३५ हजार जति लाग्ने रहेछ (यो दुताबासको शुल्क प्रति पेज दिराम १ सय ५० अनि चेम्बरको प्रतिपेज दिराम ५०) ५ पेजको हिसाब कति भयो ? त्यसपछि भिषाको शुल्क रु.६५ हजार पठाउन पर्ने भयो । किनकि अन्त कतै जागिर पाउन सकिएन । यत्रो खर्च गरेर त्यसै छोड्ने कुरा पनि भएन । अत: फ्री भिषा-फ्री टिकटको कुरा गरिन्छ तर आफैले सित्तैमा मिलाएको काममा आउन नेपाल सरकारको झन्जटले गर्दा मेरो डेढ लाख खर्च भईसक्यो तर अझै जान सकेको छैन । के आफैले मिलाउँदा कुनै बाटो छैन, विदेश जान ? किन यो भएन र त्यो भएन भनेर दु:ख दिइन्छ ? एम्बेसी यत्ति भए पुग्छ भन्ने नेपालमा श्रम यत्तिले हुन्न भन्ने । मैले अब कसरि न्याय पाउन सक्छु ?

अझ नेपालमा त पूर्व स्वीकृतिबिना म्यानपावरले मान्छे पठाउन सक्दैनन् रे । पुर्ब स्वीकृति लिएपछि मात्र भिषा निकाल्नु पर्छ रे ! कस्तो अचम्म भने छानिएर अफर लेटर मेरो नाममा आएपछि त्यो अफरलेटर र डिमाण्ड लेटरसँगै अरु डकुमेन्टमा एम्बेसीको छाप लगाएर नेपाल पठाउने रे अनि यस्तो डिमाण्ड छ भनेर मेनपावोरले पत्रिकामा विज्ञापनको नाटक गर्नुपर्ने रहेछ । जबकि मान्छे छानिएर आएपछि डिमाण्ड आएको कुरा पत्रिकामा निकालेको ७ दिन पछि मात्र भिषामा श्रम गर्न मिल्ने रे ! जब मान्छे छानिएर डिमाण्ड लेटर अनि अफर लेटरनै आयो भने बेकार अरुलाई दु:ख दिन किन पत्रिकामा बिज्ञापन निकाल्ने ? मान्छे छानिएपछि पत्रिकामा निकाल्नुको के अर्थ ? कस्तो सिस्टम ? कुन बुद्धिहरामले बनाएको नियम ?

तर यसरि पुर्ब स्वीकृति लिएपछि भने उक्त्त म्यानपावरले त्यहि कम्पनिबाट भ्याकेन्सी आएमा अरु ४ जना बिना डकुमेन्ट एक बर्षको अबधि भित्र पठाउन पाउने रहेछ । मेरो डकुमेन्टमा चाँही एउटामा छाप नभएकोले गर्दा श्रम स्वीकृति नपाउने ? तर मेरै डकुमेन्टको डिमाण्ड लेटरको आधारमा भने अरुले बिना डकुमेन्ट जान पाउने ? यो कस्तो नियम ? यसरी पुर्ब स्वीकृति लिएपछि भने अरु ४ जनाले भने एम्बेसीको छाप बिनानै जान पाउने ? तर मैले बाँकी पनि मगाउछु तर प्रोसेस गरिदिनुस्, भिषा सकिन लाग्यो, भन्दापनि हुँदै भएन ! म स्वयम् म्यानपावर प्रतिनिधिसंग गएर लाख बिन्ति गरें तर सुनेनन् ।

कमि कमजोरी मेरो मात्र थिएन । ४ चोटी एम्बेसी मान्छे खोजेर पठाएकै हो । ४ चोटीसम्म चेम्बर अफ कमर्श र एम्बेसी जाने मान्छे खोज्न मलाई सानो गाह्रो परेन । सबैको डिउटी हुन्छ, अर्काको कामको लागि को छुट्टी लिएर जान्छ ? एकचोटी भए पो चार-चार चोटी ! यदि सजिलै श्रम भईदिएको भए म फ्रीमा दुबई गएर अहिलेसम्म छ महिनाको तलब पाईसक्ने थिएँ ।

पहिलो चोटी भिषा चार्ज होटेलले तिरको थियो तर दोश्रो चोटी होटेलले भिषाको पैसा तिरिदिने कुरा पनि भएन किनकि दोश्रो चोटी पनि आउन सकेन भने त होटेलको पैसा फेरी डुब्ने भयो । आबुधाबी एम्बेसीको शुल्क र चेम्बरको शुल्क गरि अब मैले पुन: श्रम स्वीकृति बनाउन ४० हजार पठाउनुपर्ने भयो । मैले अब भिषाका लागि ६५ हजार पठाउनु पर्ने भयो । म अहिले यहि पैसा जम्मा गर्दैछु । किनकि मलाई मेरो मजबुरिको कारण जसरि पनि दुबई जानु छ । केहि कमाउनु छ, पापी पेट पाल्नु छ, श्रीमानको उपचार गर्नु छ, बच्चाहरुलाई यो देशको लागि केहि गर्न सक्ने बनाउनु छ ।

नियमकै कुरा गर्ने हो भने मलाइ आश्चर्य लागेको कुरा के पनि छ भने यदि एम्बेसीको पैसा होटलले तिरिदिएको भए म सस्तैमा विदेश जान पाउने थिए तर भिजीट भिषामा त्यहाँ नेपालीहरुले जतिपनि जान पाउने रहेछन् । त्यस्तो अवस्थामा किन तिर्ने एम्बेसीको चार्ज र म्यानपावरको चार्ज ? भिजिटमा गयो भने जति पनि नेपाली स्टाफ दुबईले पाउनेरहेछ टिकेट पनि दिन नपर्ने । यिनै कारणले गर्दा भिजिट भिषामा दुबई जाने नेपालीको शंख्या बढ्दैछ । भिजिटमा जानको लागि आफन्त चाहिने रे ! तर नेपालका दलालहरुलाई पैसा खुवाए जस्ताले पनि दुबई जान भिजिट भिषा पाउने रहेछन । तर मैले सरकारी नियम अनुसार गर्दा चाही म जस्तालाई यो वा त्यो बहानामा दु:ख दिईने रहेछ । साझासबालबाट साभार

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger