|
|
|
|
तर सर्जनको जीवनको गती भने एक किसिमले रोकिएजस्तै भयो । ‘घाईते भएपछि मेरो शरिरको कम्बरमुनीको भाग चल्दैन’ नेपालगञ्ज मेडिकल कलेजमा पत्नी जुनुमायासित भेटिएका सर्जनले पाङ्ग्रा विग्रिएको ह्विलचेयर जवर्जस्ती गुडाउन खोजे । तर अघिल्लो पाङ्ग्रा खट्याक खछ्याक गर्दै अड्किरह्यो ।
सर्जनलाई विहान उठ्नदेखि खान, शौचालय जान, वरपर डुल्न र ओछ्यानमा सुताउनसमेत सहयोगी आवश्यक पर्छ । चिकित्सकिय भाषामा ‘पारा प्लेजिया’ भनिने समस्याबाट पिडित उनलाई सरकारले एउटा ह्विलचेयर दिएको थियो, तर आजभोली त्यसकै पनि अगाडीको टायर विग्रिएको छ ।
सरकारले अशक्त अपांगहरुका लागि मासिक ६ हजार र उनका सहयोगीका लागि थप छ हजार गरी १२ हजार रुपैंया भत्ता दिएको छ । छोरी सहित ३ जनाको परिवार रहेका सर्जनको आयस्रोत त्यही हो । ‘मैले नसके पनि परिवारलाई यसो केही सिप सिकाइदिए हात थापेर खानुपर्ने थिएन,’ सर्जनको गुनासो छ, ‘राज्यले नाममात्रैको सुविधा दिएर पन्छिन खोज्यो, हाम्रो बलिदानीको मूल्य नै देखेन । केही सिप सिकाइदिए सक्नेले आफ्नै पाखुरा चलाउन पाउँथ्यो ।’
माओवादीको शसस्त्र द्वन्द्व सकिएको एक दशकपछि मध्यपश्चिमका चार जिल्ला घुम्ने अवसर जुट्यो । पूर्व–पश्चिम राजमार्गको अमिलियाबाट दाङ उपत्यका छिर्दै गर्दा कालोपत्रे सडकको दुर्दशा शुरु भयो । द्वन्द्व सकिएको एक दशकयता सडक विकासका नाममा भारी बजेट खनाइए पनि त्यसको छनक बाटोमा देखिँदैनथ्यो । घोराहीमा भने स्थानीयबासिन्दाले साझमा सुरक्षाको अवस्था ठीक नभएको भन्दै रातीमा बाहिर नडुल्न सुझाउँदैथिए ।
भालुवाङ, प्यूठान हुदै रोल्पाको सुलिचौर पुग्दा द्वन्द्वका क्षति र अवशेषहरु कताकती मात्रै देखा पर्थे । नयाँ निर्माण भएको सुलिचौर प्रहरी चौकीमा बजारकै विभिन्न दलका प्रतिनिधि, व्यवसायीहरु भेला भएका थिए । कुराकानीकै क्रममा नेपाली कांग्रेसकी क्षेत्रिय संयोजक तिजा विष्ट क्षेत्री स्थानीय लवजमा चल्तीको थेगो मूल्यास्याग(मुलाको साग) भन्दै निकै आक्रोशित भईन् । हालै बैद्य समूहबाट माओवादी(केन्द्र)मा प्रवेश गरेका मणिराम बुढाथोकीले कांग्रेस र प्रहरीका कारण आफू जंगल पस्नुपरेको बताएपछि उनी आक्रोशित भएकी थिइन् ।
उनकै भनाईमा, माओवादीका धेरै कुरा नजाती भएपनि केही/केही जाती खालका थिए । जुन विषयलाई शान्ति प्रक्रियापछि माओवादीले चटक्कै भुलेको उनको गुनासो थियो । ‘त्यतिबेला गाउमा रक्सी पार्ने/खाने गर्दैनथे, जुवातास बन्द थियो, अर्कोको परिवार विगार्दैनथे,’ उनले बुढाथोकीप्रति मुख बङ्ग्याउदै भनिन्, ‘घरघरमा रक्सी पार्छन, दिउसै धोकेर हिड्छन् । जुवातास जहा मनलाग्यो त्यही छ । आफ्नै राम्रो काम छाडे यिनीहरुले ।’
सुलिचौर बजारमा लामो समय व्यापार गरेका, जनमोर्चा नेपालका सक्रिय कार्यकर्ता बुढाथोकी जनयुद्ध शुरु भएपछि ७ वर्ष जेल बसेका रहेछन् । ‘पुराना कुरा सम्झन ठिकै हुने, तर कोट्याउन नहुने’ भन्दै उनले आजभोली जिल्लामा पहिलेजस्तो दलिय मनोमालिन्य नभएको बताए । ‘हामी एकछिन ठाक्कठुक्क गरेपनि सँगै खाजा खाएर छुट्टिन्छम्,’ उनले स्पष्टिकरण दिँदै भने, ‘गाउठाउमा अव झगडा गरेर फाइदा नहुने रहेछ ।’
रोल्पाका गाउँठाँउ शान्तजस्तो देखिएपनि बैदेशिक रोजगारी र मदिराका कारण पारिवारिक कलह भने टाउको दुखाइको विषय बनेको सुलिचौरका प्रहरी निरिक्षक शशिधर अधिकारीको बुझाई रहेछ । उनको चौकीको हिरासतकक्षमा छ महिनायता थुनुवाको पाइलो परेको छैन ।
फौजदारी अभियोग त के, सार्वजनिक अपराधका घटना समेत खासै हुँदैनन् । ‘गाउँमा जाँडरक्सी खाएर हल्ला गरेर दुख दिनेलाई एक दुई रात थुन्ने गरेका छौं,’ अधिकारीले भने । सानातिना झगडा गाउका अगुवाले नै मिलाउँदा रहेछन् ।
कुराकानीका क्रममा विप्लबले नेतृत्व गरेको माओवादी र उसले चलाएको अभियानको प्रसंग निस्कियो । थबाङ लगायतका क्षेत्रमा उनीहरु संगठित हुने प्रयासमा रहेछन् । भर्खरै माओवादी केन्द्रको केन्द्रिय सदस्य बनेका बुढाथोकीले विप्लब समूहका कतिपय माग जायज भएको भन्दै सम्बोधन गर्नुपर्ने बताए । ‘उठाएका मुद्दा ठिक भएपनि बाटो बेठिक रहेछ भनेर हामीले जनतालाई दु:ख नहुने लाईनतिर हिड्यौ,’ छुट्टिनुअघि उनले भने, ‘विप्लबलाई पनि बार्तामा बोलाएर सरकारले समाधान खोज्नुपर्छ भनेर लेखिदिनुस् है ।’
लिबाङ बजारबाट करिव आधा घण्टाको उकालो हिडेपछि पुगिन्छ, माओवादी नेता कृष्णबहादुर महराको घर । उनले दिएको जग्गामा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदले प्राविधिक शिक्षालयको भवनहरु बनाइरहेको छ । त्यही छेवैमा छ, ऋषिराम र निर्मला रोकामगरको व्यवसायिक कृषि फार्म र जस्ताले छाएको सानो टहरो ।
पञ्चायतकालदेखि संगठनमा लागेको बताउने, माओवादीको सैन्य फाटमा कमिसारसम्म भएका ऋषीराम हाल माओवादी(केन्द्र)को जिल्ला उपाध्यक्ष छन् । कृष्णभीर, म्याग्दी, सिन्धुपाल्चोक लगायत आधा दर्जन ठुला आक्रमणमा संलग्न उनी माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई बोकेर खोला तारेका कारण बढी चर्चा पाए ।
आजभोली उनको परिवार व्यवसायीक खेतीपातीमा व्यस्त छ । ‘नेताहरुले उपरी संरचना सुधार गरियो र परिवर्तनकामी बनाइयो भन्छन्,’ ऋषीले भने, ‘अव हामीले कृषि क्रान्ती गरेर आधार संरचनामा आत्मनिर्भर हुनुपर्छ ।’ उनले कम्तिमा २० लाख रुपैंयाको अलैचीका विरुवा हुर्काएको कृषि कार्यालयका प्रमुख किशोर पन्तले बताए । श्रीखण्ड, देवदार, टाकी लगायतका विरुवा लगाएका छन् उनले ।
शसस्त्र युद्धका दौरान पार्टीको खाद्यान्न फाँटको कार्यकर्ताको रुपमा भेटिएकी निर्मलासँग ऋषिरामले घरजम गरे । द्वन्द्वकालमै जन्मिएकी छोरी हुर्काउन अनेक उपाय गरेका उनले केन्द्रिय नेताहरुको विलाशी शैलीप्रति असन्तुष्टी पोखे । ‘केही साथीहरुले मौका छोपेर हात लामो गराए भन्ने पनि सुनियो, तर सबैले त्यसो नगर्लान । हैन र ?’ उनले प्रतिप्रश्न गरे ।
कृषि कार्यालयका प्रमुख किशोर पन्तले वर्षभरी आउने र खर्च हुने बजेटको सुची फ्लेक्स बनाएर कार्यालयको भित्तामा टास्न लगाएका रहेछन् । पूर्वी रोल्पामा अलैचीको सम्भावना औल्याउँदै उनले वार्षिक रुपमा प्रतिरोपनी ५० किलो अलैची फल्ने र त्यसबाट एक लाख रुपैंयासम्म आम्दानी हुने बताए । ‘हिजोको व्यवस्थामा पनि जनताकोमा पुग्न सकिएन’ उनले भने, ‘गर्छु भन्दा पनि केके नपुग्दो रहेछ, आजको अवस्था पनि फरक छैन ।’ उनको बुझाईमा रोल्पा ‘भुगोलले ठगेको, तर प्रकृतिले नठगेको’ ठाउ हो ।
केहीबेर त्यहाँ बस्दा कार्यालयमा एक महिला आइन् । कर्मचारीले नाम सोध्दा उनले ‘मेरो पोइको नाम कुलबहादुर चन्द’ हो भन्दै आफ्नो समस्या बताइरहेकी थिइन् । बढ्यो भनिएको हाम्रो सामाजिक चेतनाको यो स्थिति पनि देखियो ।
रोल्पापछि स्वर्गद्वारी जाने/नजाने अनिश्चित भयो । तर प्यूठानको भ्रिङ्गीदेखि स्वर्गद्वारी डाडामा पुग्ने करिव १३ किलोमिटर कच्ची सडक वर्षाले खासै असर गरेको रहेनछ । खल्खली पसिना आउने फेदबाट डाडामा पुग्दा चिसो कुहिरोको एकछत्र राज थियो । मन्दिरमा नेपालीको तुलनामा भारतका विभिन्न ठाउबाट आउने भक्तालुहरुको घुइचो लाग्दो रहेछ ।
दैनिक ४/५ लाखसम्म भेटी संकलन हुने मन्दिरमा भक्तालुहरुका लागि पनि राम्रो व्यवस्था गरिएको रहेछ । १० वर्षे द्वन्द्वले मन्दिरमा कुनै प्रभाव नपरेको स्थानीयहरुले बताए । तर दाङको देउखुरीमा रहेको गुठीको आम्दानी मोहीहरु मन्दिरमा दिन छाडेछन् । कतिपयले घर बनाएर जग्गा बेखविखन समेत थालेछन् । तर खासै आम्दानी नआउने त्यही जग्गाको तिरोस्वरुप मन्दिरले वार्षिक डेढ लाख रुपैंया मालपोत कार्यालयलाई बुझाउँदो रहेछ ।
फर्किनेक्रममा स्वर्गद्वारीबाट रोल्पाको होलेरी हुदै दाङ झर्ने योजना तय भयो । माओवादीले जनयुद्ध थालेकै दिन निशानामा परेको होलेरी प्रहरी चौकी दोस्रोपटक पनि आक्रमणमा परेको रहेछ । अहिले त्यहाँ नयाँ प्रहरीचौकी बनेको थियो । दाङको तुलसीपुर, सल्यानको कपुरकोट, रोल्पाको लिवाङ र प्यूठानको स्वर्गद्वारीसम्म जोड्ने होलेरी बजार सानातिनो व्यापारिक नाका पनि हो ।
माओवादीले युद्धकालमा नै शहिद मार्ग भनी नामाकरण गरेको सडकको होलेरी–दाङ खण्ड सडक कार्यालयले विस्तार गरिरहेको थियो । महाभारत पर्वतको खोच हुदै दाङ झर्ने क्रममा भीषण पानी पर्यो । माथिपट्टि पहाडबाट ढुंगा र लेदो पहिरो झर्न थाल्यो ।
दाङस्थित शान्ति समितीको कार्यालयमा सत्य निरुपण तथा मेलमिलाप आयोगमा उजुरी दिन द्वन्द्वपिडितहरुको घुइँचो थियो । त्यही भेटिए, द्वन्द्वपिडित प्रहरी नवराज श्रेष्ठ । २०५६ सालमा जाजकोटमा एम्बुस विस्फोट र त्यसपछिको भिडन्तमा घाईते भएका उनी करिव ३२ महिनाको उपचारपछि अवकाश लिएका रहेछन् ।
एक लाख ४० हजार रुपैंया राहत पाएका असई श्रेष्ठ सई भएर अवकाश पाए भने हाल इन्सपेक्टर सरहको पेन्सन बुझिरहेका छन् । ‘पिडा हुदो रहेछ हेर्नुस्’ उनले भने, ‘जेनतेन अलिअलि आयस्ता हुनेलाई त यस्तो दु:ख छ भने केही नपाएकाहरुलाई कस्तो हुँदो हो ?’ दिग्दारीपन, अशक्त हुनुको पिडा बाकेर द्वन्द्वपिडितकै हक अधिकारका लागि हिडिरहेका उनी नियमित स्वास्थ्य जाच र उपचारमै पेन्सनको ठूलो हिस्सा सकिने गुनासो गर्दै थिए ।
द्वन्द्वकालमा दुई पटक गरी झण्डैं ३ वर्ष अपहरण र यातनाको शिकार भएकी सुधा रेग्मी शान्ति समितीकी सदस्य समेत हुन् । तर उनले हालसम्म कुनै राहत पाएकी छैनन् । २०५५ सालमा प्रहरीले माओवादीको आरोपमा अपहरण गरी २ वर्ष हिरासतमा राखेपछि ‘बाध्य भएर संगठनमा लागेको’ सुधाले बताइन् । ‘स्थिती सम्झिदा आफू त डामाडोल भइएछ जस्तो लाग्दो रहेछ,’ उनले भनिन् ।
घोराहीमै भेटिएका डिएसपी प्रकाशराज शर्माले घोराही, तुल्सीपुरजस्ता ठाउमा चिन्ता लिनुपर्ने विषय नरहेको भन्दै दुर्गमको पिडा बुझ्ने भए भारतीय सिमाक्षेत्रमा पर्ने कोइलाबास पुग्न पत्रकारहरुलाई आग्रह गरे । खानेपानीका लागि समेत भारतीय प्रहरीको मुख ताक्नुपर्ने कोइलाबास पुग्न सडकको सुविधा रहेनछ । सदरमुकामबाट ६० किलोमिटर र लमहीबाट ३५ किलोमिटर टाढाको बस्ती पुग्न करिव ६ घण्टा लाग्ने रहेछ । कोइलाबासमा गत महिनादेखि मात्रै मोवाईट टावर जडान भएको रहेछ । ‘त्यहाको पिडा देखियो भने मन पोल्छ, तर कसैले वास्तै गर्दैनन्,’ शर्माले भने ।
करिव चार दिने यात्राका क्रममा मध्यपश्चिमका चार जिल्लामा द्वन्द्वले क्षति भएका भौतिक संरचनाको अवशेष अब खासै देखिएनन् । एक दशकको अवधिमा कतिपयको पुननिर्माण भइसकेका थिए । बाकी छन् त केवल युद्धले पारेका चोट र कहिल्यै नपुरिने घाउहरु । सग्लै रहेका सामाजिक र आर्थिक समस्याहरु । इकान्तिपुर अनलाइनबाट साभार

Post a Comment