Headlines News :
Home » » [रोल्पा डायरी] ‘शान्ति आयो, विकास खै ?’

[रोल्पा डायरी] ‘शान्ति आयो, विकास खै ?’

Written By Unknown on Saturday, July 9, 2016 | 6:51 PM


कृष्ण ज्ञवाली,काठमाडौं । माओवादी विद्रोहको अवतरण हुनै लाग्दाताकाको बुटबल आक्रमणमा सहभागी थिए, बाँकेका सर्जन विक । त्यो हमलाको केही महिनापछि माओवादी शसस्त्र युद्धको बाटोबाट शान्तिपूर्ण धावनमार्गमा ओर्लियो र अघि बढिरह्यो ।



तर सर्जनको जीवनको गती भने एक किसिमले रोकिएजस्तै भयो । ‘घाईते भएपछि मेरो शरिरको कम्बरमुनीको भाग चल्दैन’ नेपालगञ्ज मेडिकल कलेजमा पत्नी जुनुमायासित भेटिएका सर्जनले पाङ्ग्रा विग्रिएको ह्विलचेयर जवर्जस्ती गुडाउन खोजे । तर अघिल्लो पाङ्ग्रा खट्याक खछ्याक गर्दै अड्किरह्यो ।

सर्जनलाई विहान उठ्नदेखि खान, शौचालय जान, वरपर डुल्न र ओछ्यानमा सुताउनसमेत सहयोगी आवश्यक पर्छ । चिकित्सकिय भाषामा ‘पारा प्लेजिया’ भनिने समस्याबाट पिडित उनलाई सरकारले एउटा ह्विलचेयर दिएको थियो, तर आजभोली त्यसकै पनि अगाडीको टायर विग्रिएको छ ।

सरकारले अशक्त अपांगहरुका लागि मासिक ६ हजार र उनका सहयोगीका लागि थप छ हजार गरी १२ हजार रुपैंया भत्ता दिएको छ । छोरी सहित ३ जनाको परिवार रहेका सर्जनको आयस्रोत त्यही हो । ‘मैले नसके पनि परिवारलाई यसो केही सिप सिकाइदिए हात थापेर खानुपर्ने थिएन,’ सर्जनको गुनासो छ, ‘राज्यले नाममात्रैको सुविधा दिएर पन्छिन खोज्यो, हाम्रो बलिदानीको मूल्य नै देखेन । केही सिप सिकाइदिए सक्नेले आफ्नै पाखुरा चलाउन पाउँथ्यो ।’

माओवादीको शसस्त्र द्वन्द्व सकिएको एक दशकपछि मध्यपश्चिमका चार जिल्ला घुम्ने अवसर जुट्यो । पूर्व–पश्चिम राजमार्गको अमिलियाबाट दाङ उपत्यका छिर्दै गर्दा कालोपत्रे सडकको दुर्दशा शुरु भयो । द्वन्द्व सकिएको एक दशकयता सडक विकासका नाममा भारी बजेट खनाइए पनि त्यसको छनक बाटोमा देखिँदैनथ्यो । घोराहीमा भने स्थानीयबासिन्दाले साझमा सुरक्षाको अवस्था ठीक नभएको भन्दै रातीमा बाहिर नडुल्न सुझाउँदैथिए ।

भालुवाङ, प्यूठान हुदै रोल्पाको सुलिचौर पुग्दा द्वन्द्वका क्षति र अवशेषहरु कताकती मात्रै देखा पर्थे । नयाँ निर्माण भएको सुलिचौर प्रहरी चौकीमा बजारकै विभिन्न दलका प्रतिनिधि, व्यवसायीहरु भेला भएका थिए । कुराकानीकै क्रममा नेपाली कांग्रेसकी क्षेत्रिय संयोजक तिजा विष्ट क्षेत्री स्थानीय लवजमा चल्तीको थेगो मूल्यास्याग(मुलाको साग) भन्दै निकै आक्रोशित भईन् । हालै बैद्य समूहबाट माओवादी(केन्द्र)मा प्रवेश गरेका मणिराम बुढाथोकीले कांग्रेस र प्रहरीका कारण आफू जंगल पस्नुपरेको बताएपछि उनी आक्रोशित भएकी थिइन् ।

उनकै भनाईमा, माओवादीका धेरै कुरा नजाती भएपनि केही/केही जाती खालका थिए । जुन विषयलाई शान्ति प्रक्रियापछि माओवादीले चटक्कै भुलेको उनको गुनासो थियो । ‘त्यतिबेला गाउमा रक्सी पार्ने/खाने गर्दैनथे, जुवातास बन्द थियो, अर्कोको परिवार विगार्दैनथे,’ उनले बुढाथोकीप्रति मुख बङ्ग्याउदै भनिन्, ‘घरघरमा रक्सी पार्छन, दिउसै धोकेर हिड्छन् । जुवातास जहा मनलाग्यो त्यही छ । आफ्नै राम्रो काम छाडे यिनीहरुले ।’

सुलिचौर बजारमा लामो समय व्यापार गरेका, जनमोर्चा नेपालका सक्रिय कार्यकर्ता बुढाथोकी जनयुद्ध शुरु भएपछि ७ वर्ष जेल बसेका रहेछन् । ‘पुराना कुरा सम्झन ठिकै हुने, तर कोट्याउन नहुने’ भन्दै उनले आजभोली जिल्लामा पहिलेजस्तो दलिय मनोमालिन्य नभएको बताए । ‘हामी एकछिन ठाक्कठुक्क गरेपनि सँगै खाजा खाएर छुट्टिन्छम्,’ उनले स्पष्टिकरण दिँदै भने, ‘गाउठाउमा अव झगडा गरेर फाइदा नहुने रहेछ ।’

रोल्पाका गाउँठाँउ शान्तजस्तो देखिएपनि बैदेशिक रोजगारी र मदिराका कारण पारिवारिक कलह भने टाउको दुखाइको विषय बनेको सुलिचौरका प्रहरी निरिक्षक शशिधर अधिकारीको बुझाई रहेछ । उनको चौकीको हिरासतकक्षमा छ महिनायता थुनुवाको पाइलो परेको छैन ।

फौजदारी अभियोग त के, सार्वजनिक अपराधका घटना समेत खासै हुँदैनन् । ‘गाउँमा जाँडरक्सी खाएर हल्ला गरेर दुख दिनेलाई एक दुई रात थुन्ने गरेका छौं,’ अधिकारीले भने । सानातिना झगडा गाउका अगुवाले नै मिलाउँदा रहेछन् ।

कुराकानीका क्रममा विप्लबले नेतृत्व गरेको माओवादी र उसले चलाएको अभियानको प्रसंग निस्कियो । थबाङ लगायतका क्षेत्रमा उनीहरु संगठित हुने प्रयासमा रहेछन् । भर्खरै माओवादी केन्द्रको केन्द्रिय सदस्य बनेका बुढाथोकीले विप्लब समूहका कतिपय माग जायज भएको भन्दै सम्बोधन गर्नुपर्ने बताए । ‘उठाएका मुद्दा ठिक भएपनि बाटो बेठिक रहेछ भनेर हामीले जनतालाई दु:ख नहुने लाईनतिर हिड्यौ,’ छुट्टिनुअघि उनले भने, ‘विप्लबलाई पनि बार्तामा बोलाएर सरकारले समाधान खोज्नुपर्छ भनेर लेखिदिनुस् है ।’

लिबाङ बजारबाट करिव आधा घण्टाको उकालो हिडेपछि पुगिन्छ, माओवादी नेता कृष्णबहादुर महराको घर । उनले दिएको जग्गामा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदले प्राविधिक शिक्षालयको भवनहरु बनाइरहेको छ । त्यही छेवैमा छ, ऋषिराम र निर्मला रोकामगरको व्यवसायिक कृषि फार्म र जस्ताले छाएको सानो टहरो ।

पञ्चायतकालदेखि संगठनमा लागेको बताउने, माओवादीको सैन्य फाटमा कमिसारसम्म भएका ऋषीराम हाल माओवादी(केन्द्र)को जिल्ला उपाध्यक्ष छन् । कृष्णभीर, म्याग्दी, सिन्धुपाल्चोक लगायत आधा दर्जन ठुला आक्रमणमा संलग्न उनी माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई बोकेर खोला तारेका कारण बढी चर्चा पाए ।

आजभोली उनको परिवार व्यवसायीक खेतीपातीमा व्यस्त छ । ‘नेताहरुले उपरी संरचना सुधार गरियो र परिवर्तनकामी बनाइयो भन्छन्,’ ऋषीले भने, ‘अव हामीले कृषि क्रान्ती गरेर आधार संरचनामा आत्मनिर्भर हुनुपर्छ ।’ उनले कम्तिमा २० लाख रुपैंयाको अलैचीका विरुवा हुर्काएको कृषि कार्यालयका प्रमुख किशोर पन्तले बताए । श्रीखण्ड, देवदार, टाकी लगायतका विरुवा लगाएका छन् उनले । 

शसस्त्र युद्धका दौरान पार्टीको खाद्यान्न फाँटको कार्यकर्ताको रुपमा भेटिएकी निर्मलासँग ऋषिरामले घरजम गरे । द्वन्द्वकालमै जन्मिएकी छोरी हुर्काउन अनेक उपाय गरेका उनले केन्द्रिय नेताहरुको विलाशी शैलीप्रति असन्तुष्टी पोखे । ‘केही साथीहरुले मौका छोपेर हात लामो गराए भन्ने पनि सुनियो, तर सबैले त्यसो नगर्लान । हैन र ?’ उनले प्रतिप्रश्न गरे ।

कृषि कार्यालयका प्रमुख किशोर पन्तले वर्षभरी आउने र खर्च हुने बजेटको सुची फ्लेक्स बनाएर कार्यालयको भित्तामा टास्न लगाएका रहेछन् । पूर्वी रोल्पामा अलैचीको सम्भावना औल्याउँदै उनले वार्षिक रुपमा प्रतिरोपनी ५० किलो अलैची फल्ने र त्यसबाट एक लाख रुपैंयासम्म आम्दानी हुने बताए । ‘हिजोको व्यवस्थामा पनि जनताकोमा पुग्न सकिएन’ उनले भने, ‘गर्छु भन्दा पनि केके नपुग्दो रहेछ, आजको अवस्था पनि फरक छैन ।’ उनको बुझाईमा रोल्पा ‘भुगोलले ठगेको, तर प्रकृतिले नठगेको’ ठाउ हो ।

केहीबेर त्यहाँ बस्दा कार्यालयमा एक महिला आइन् । कर्मचारीले नाम सोध्दा उनले ‘मेरो पोइको नाम कुलबहादुर चन्द’ हो भन्दै आफ्नो समस्या बताइरहेकी थिइन् । बढ्यो भनिएको हाम्रो सामाजिक चेतनाको यो स्थिति पनि देखियो ।

रोल्पापछि स्वर्गद्वारी जाने/नजाने अनिश्चित भयो । तर प्यूठानको भ्रिङ्गीदेखि स्वर्गद्वारी डाडामा पुग्ने करिव १३ किलोमिटर कच्ची सडक वर्षाले खासै असर गरेको रहेनछ । खल्खली पसिना आउने फेदबाट डाडामा पुग्दा चिसो कुहिरोको एकछत्र राज थियो । मन्दिरमा नेपालीको तुलनामा भारतका विभिन्न ठाउबाट आउने भक्तालुहरुको घुइचो लाग्दो रहेछ ।

दैनिक ४/५ लाखसम्म भेटी संकलन हुने मन्दिरमा भक्तालुहरुका लागि पनि राम्रो व्यवस्था गरिएको रहेछ । १० वर्षे द्वन्द्वले मन्दिरमा कुनै प्रभाव नपरेको स्थानीयहरुले बताए । तर दाङको देउखुरीमा रहेको गुठीको आम्दानी मोहीहरु मन्दिरमा दिन छाडेछन् । कतिपयले घर बनाएर जग्गा बेखविखन समेत थालेछन् । तर खासै आम्दानी नआउने त्यही जग्गाको तिरोस्वरुप मन्दिरले वार्षिक डेढ लाख रुपैंया मालपोत कार्यालयलाई बुझाउँदो रहेछ ।

फर्किनेक्रममा स्वर्गद्वारीबाट रोल्पाको होलेरी हुदै दाङ झर्ने योजना तय भयो । माओवादीले जनयुद्ध थालेकै दिन निशानामा परेको होलेरी प्रहरी चौकी दोस्रोपटक पनि आक्रमणमा परेको रहेछ । अहिले त्यहाँ नयाँ प्रहरीचौकी बनेको थियो । दाङको तुलसीपुर, सल्यानको कपुरकोट, रोल्पाको लिवाङ र प्यूठानको स्वर्गद्वारीसम्म जोड्ने होलेरी बजार सानातिनो व्यापारिक नाका पनि हो ।

माओवादीले युद्धकालमा नै शहिद मार्ग भनी नामाकरण गरेको सडकको होलेरी–दाङ खण्ड सडक कार्यालयले विस्तार गरिरहेको थियो । महाभारत पर्वतको खोच हुदै दाङ झर्ने क्रममा भीषण पानी पर्‍यो । माथिपट्टि पहाडबाट ढुंगा र लेदो पहिरो झर्न थाल्यो ।

दाङस्थित शान्ति समितीको कार्यालयमा सत्य निरुपण तथा मेलमिलाप आयोगमा उजुरी दिन द्वन्द्वपिडितहरुको घुइँचो थियो । त्यही भेटिए, द्वन्द्वपिडित प्रहरी नवराज श्रेष्ठ । २०५६ सालमा जाजकोटमा एम्बुस विस्फोट र त्यसपछिको भिडन्तमा घाईते भएका उनी करिव ३२ महिनाको उपचारपछि अवकाश लिएका रहेछन् ।

एक लाख ४० हजार रुपैंया राहत पाएका असई श्रेष्ठ सई भएर अवकाश पाए भने हाल इन्सपेक्टर सरहको पेन्सन बुझिरहेका छन् । ‘पिडा हुदो रहेछ हेर्नुस्’ उनले भने, ‘जेनतेन अलिअलि आयस्ता हुनेलाई त यस्तो दु:ख छ भने केही नपाएकाहरुलाई कस्तो हुँदो हो ?’ दिग्दारीपन, अशक्त हुनुको पिडा बाकेर द्वन्द्वपिडितकै हक अधिकारका लागि हिडिरहेका उनी नियमित स्वास्थ्य जाच र उपचारमै पेन्सनको ठूलो हिस्सा सकिने गुनासो गर्दै थिए ।

द्वन्द्वकालमा दुई पटक गरी झण्डैं ३ वर्ष अपहरण र यातनाको शिकार भएकी सुधा रेग्मी शान्ति समितीकी सदस्य समेत हुन् । तर उनले हालसम्म कुनै राहत पाएकी छैनन् । २०५५ सालमा प्रहरीले माओवादीको आरोपमा अपहरण गरी २ वर्ष हिरासतमा राखेपछि ‘बाध्य भएर संगठनमा लागेको’ सुधाले बताइन् । ‘स्थिती सम्झिदा आफू त डामाडोल भइएछ जस्तो लाग्दो रहेछ,’ उनले भनिन् ।

घोराहीमै भेटिएका डिएसपी प्रकाशराज शर्माले घोराही, तुल्सीपुरजस्ता ठाउमा चिन्ता लिनुपर्ने विषय नरहेको भन्दै दुर्गमको पिडा बुझ्ने भए भारतीय सिमाक्षेत्रमा पर्ने कोइलाबास पुग्न पत्रकारहरुलाई आग्रह गरे । खानेपानीका लागि समेत भारतीय प्रहरीको मुख ताक्नुपर्ने कोइलाबास पुग्न सडकको सुविधा रहेनछ । सदरमुकामबाट ६० किलोमिटर र लमहीबाट ३५ किलोमिटर टाढाको बस्ती पुग्न करिव ६ घण्टा लाग्ने रहेछ । कोइलाबासमा गत महिनादेखि मात्रै मोवाईट टावर जडान भएको रहेछ । ‘त्यहाको पिडा देखियो भने मन पोल्छ, तर कसैले वास्तै गर्दैनन्,’ शर्माले भने ।

करिव चार दिने यात्राका क्रममा मध्यपश्चिमका चार जिल्लामा द्वन्द्वले क्षति भएका भौतिक संरचनाको अवशेष अब खासै देखिएनन् । एक दशकको अवधिमा कतिपयको पुननिर्माण भइसकेका थिए । बाकी छन् त केवल युद्धले पारेका चोट र कहिल्यै नपुरिने घाउहरु । सग्लै रहेका सामाजिक र आर्थिक समस्याहरु । इकान्तिपुर अनलाइनबाट साभार

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger