|
|
भारतीय विदेशमन्त्री सुष्मा स्वराजले मधेसी मोर्चाका शीर्ष नेताहरूसँगको भेटवार्तामा नेपालका प्रमुख दलहरूले बृहत् सहमति निर्माण गरी संविधानलाई सर्वस्वीकार्य बनाउनुपर्ने र परिस्थिति सामान्य बनाउनुपर्ने बताएकी हुन् ।
भारतीय विदेशमन्त्री स्वराजले मोर्चाका शीर्ष नेताहरू महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो र महेन्द्र राय यादवसँग तीन घन्टा डिनरसहितको भेटवार्ता गरेकी थिइन् । साँझ ८ बजेदेखि सुरु भएको डिनर वार्ता राति ११ बजेसम्म चलेको थियो । वार्ता लम्बिएपछि भाजपा नेता यशवन्त सिन्हासँग तय भएको भेट मोर्चा नेताले रद्द गरेका छन् ।
‘तीन घन्टा छलफल भयो, जसमा हामीले परिस्थितिको सबै पक्ष र नेपाल–भारत सम्बन्धका विषयमा सबै कुरा सविस्तारमा ब्रिफिङ गरेका छौँ, भारतीय विदेशमन्त्रीले धेरै कुरा गर्नुभएन,’ हैदरावाद हाउसमा भेटवार्ता सकिएपछि सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले नयाँ पत्रिकासँग भने, ‘हामीले संविधानमा मधेसी जनतामाथि भएको विभेद, नागरिकता, भाषालगायतको विभेद, सरकारले गरेको दमन, सबै विषयमा जानकारी दिएका छौँ ।
हाम्रो आन्दोलनको माग, सरकारको रबैयालगायत सबै पक्षमा कुराकानी भएको छ ।’ महतोले मधेसमा अधिकारका लागि आन्दोलन भएको र अन्तरिम संविधानमा पाइएको अधिकार पनि नयाँ संविधानमा खोसिएकोसमेत ब्रिफिङ गरेको बताए ।
उनले मधेसी, थारू जनतामाथि सरकारले दमन गरेको, तर राजनीतिक समाधानका लागि सरकारले तत्परता नदेखाएको पनि बताएको जानकारी दिए ।
‘निकट छिमेकीको नाताले यो अवस्थामा भारत चुप लागेर बस्न मिल्दैन, राजनीतिक समाधानका लागि आफ्नो ठाउँबाट पहल गरिदिनुस्, नेपाल सरकारलाई दबाब दिनुस् भनेर आग्रह पनि गर्यौँ,’ महतोले भने, ‘उहाँहरूले हाम्रा विषयलाई सकारात्मक रूपमा लिनुभएको छ ।’
जवाफमा विदेशमन्त्री स्वराजले भारतले पहिलेदेखि नै सहमतिका आधारमा संविधान लेख्नुपर्ने बताउँदै आएको, तर दलहरूले वास्ता नगरेको बताएकी थिइन् । महतोले स्वराजको भनाइ उद्धृत गर्दै भने, ‘हामीले पहिलेदेखि नै भनेका थियौँ ।
अन्यथा यस्तो परिस्थिति आउँछ भन्ने आँकलन पहिले नै गरेका थियौँ, पूर्वसंकेत पनि दिएका थियौँ, तर सुनुवाइ गरेनन् । अब सबै पक्ष बसेर सर्वस्वीकार्य समाधान निकाल्नुस् ।’ नाकाबन्दीका विषयमा सोध्दा महतोले केही बताउन चाहेनन् ।
Post a Comment