Headlines News :
Home » » दाङमा ८ वटा पुल निर्माण हुँदै, ७ वटाको ठेक्का आह्वान

दाङमा ८ वटा पुल निर्माण हुँदै, ७ वटाको ठेक्का आह्वान

Written By Unknown on Wednesday, June 22, 2016 | 6:27 AM


नवीन अभिलाषी/असार ८, दाङ । सम्झौता भएको समयावधीभित्र दाङका पुलहरुको निर्माण कार्य सम्पन्न हुन सकेको छैन । जिल्लाका विभिन्न स्थानहरुमा पुल निर्माणको काम धमाधम अगाडि बढाइए पनि सम्झौता भएको समयभित्र पुलको निर्माण कार्य सम्पन्न हुन सकेको देखिदैन ।

जिल्लाका विभिन्न स्थानमा निर्माणाधीन एकदर्जन बढी पुलको निर्माण कार्य समयमा सम्पन्न नहुने देखिएको छ । जिल्लामा निर्माणाधीन पुल मात्र नभएर यसपूर्वका पुलहरु पनि ठेकेदार कम्पनीहरुसँग भएको सम्झौता समय भन्दा धेरैपछि मात्र निर्माण सम्पन्न भएको मध्यपश्चिम सडक डिभिजन कार्यालयको तथ्याङ्कले देखाउँछ ।





यही आउँदो असोज मसान्तभित्र निर्माण सम्पन्न गरिसक्ने गरी सम्झौता गरिएका जिल्लाका चारवटा पुलमध्ये दुईवटा पुलको निर्माण कार्य समयमै नसकिने निश्चित भइसकेको छ । जसमध्ये पश्चिम दाङको भमके खोला पुलको मात्र निर्माण कार्य सम्पन्न भएको सडक डिभिजन कार्यालय दाङले जानकारी दिएको छ । कार्यालयका अनुसार जिल्लाको देउखुरीस्थित पिपरी खोलामा निर्माणाधीन पुलको निर्माण कार्य अन्तिम चरणमा रहेको छ । तर, अन्य दुईवटा पुलको निर्माण कार्य २५ प्रतिशत पनि पुरा भएको छैन ।

मध्यपश्चिम सडक डिभिजन कार्यालय दाङका अनुसार लमही–तुलसीपुर सडक खण्डअन्तर्गत कटुवा खोला र पत्रे खोला पुलको निर्माण कार्य कछुवाको गतिमा अगाडि बढेको छ । कटुवा खोला र पत्रे खोलाको पुल निर्माण सम्पन्न गर्ने समय आगामी असोज मसान्तभित्र मात्र रहे पनि त्यो समयमा पुल सम्पन्न हुने अवस्था नरहेको सडक डिभिजन कार्यालय घोराहीले बताएको छ । निर्माण कम्पनीकै लापरबाहीका कारण समयमै योजनाहरु सम्पन्न नहुने गरेको सडक डिभिजन कार्यालयका सूचना अधिकृत ईञ्जिनियर कल्पना अधिकारीले बताउनुभयो ।

एउटा निर्माण कम्पनीले धेरै ठेक्काको जिम्मेवारी लिने र कुनै पनि काम जिम्मेवारी रुपमा सञ्चालन नगर्दा योजनाहरु समय मै सम्पन्न हुन नसकेको सुचना अधिकृत अधिकारीको भनाइ छ । तर, कटुवा खोला र पत्रे खोलाको निर्माण गर्ने जिम्मेवारी पाएको शंकरमाली निर्माण सेवाले भने ईन्धनको अभाव, बन्द हड्ताल र पेट्रोलियम पदार्थहरुको अभावको कारण अहिले सञ्चालनमा रहेका पुलहरुको निर्माणमा समस्या भएको बताएको छ ।

२०७१ साल कार्तिकमा ठेक्का सम्झौता भएको कटुवा र पत्रे खोलाको पुल निर्माण २४ महिनाभित्र सम्पन्न गर्ने योजना रहेको थियो । तर, देशमा देखिएको अस्थिरका कारण समयमै योजनाहरु सम्पन्न गर्ने अवस्था नरहेको पुल निर्माण कम्पनीका पदम शर्माले जानकारी दिनुभयो । पुल निर्माणका लागि आवस्यक पर्ने निर्माण सामग्रीहरुको अभावका कारण १० महिना काम नै रोकिएको उहाँको भनाइ रहेको छ । यी दुई पुलहरु २०७३ सालमा निर्माण सम्पन्न हुने शर्माको भनाइ छ ।

थप ८ वटा पुलको निर्माण सुरु

यसैबीच दाङमा थप ८ वटा पुलको निर्माण कार्य सुरु भइसकेको छ । मध्यपश्चिम सडक डिभिजन कार्यालय घोराही दाङले २० दिन अगाडि आठ वटा पुलको ठेक्का व्यवस्थापन प्रक्रिया सुरु गरेको जनाएको छ । आठ वटा पुलहरुमध्ये केही पुलहरुको सर्भे गर्ने काम पनि सुरु भइसकेको कार्यालयका सुचना अधिकृत ईञ्जिनियर अधिकारीले जानकारी दिनुभयो ।

जिल्लाका बबई, गुर्जे, संग्राम, सेवार, हापुर, सिकारवहा प्रनाहा, करुंगा खोला र बबई (ढिकपुर) मा नयाँ पुल निर्माणका लागि ठेक्का स्वीकृत भएको छ । बबई, गुज्रे, संग्राम, सेवारलगायतका खोलाहरुमा पुलको सर्भे, डिजाइन लगाएका काम सुरु भएको छ, भने सिकारवहा प्रनाहा र बबई ढिकपुर खोलाको पुलको भने काम सुरु हुन सकेको छैन । यी आठ वटा पुल ४ करोडदेखि १७ करोडसम्मको लागतमा काम सुरु गर्न थालिएको छ । यी पुलहरु २४ महिनादेखि ३६ महिना समयभित्र सम्पन्न गर्ने विभिन्न ठेकेदार कम्पनीहरुसँग सम्झौता भएको छ ।

यसैबीच दाङ र सल्यानका विभिन्न ७ वटा पुलहरुका लागि ठेक्का आह्वान गरिएको छ । घट्टे खोला, नेथे खोला, जलुके खोला, हापुर खोलाका दुईवटा, काला खोला र माया खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान गरिएको छ ।

प्रयोग गर्न थालिएको बालुवा गुणस्तरहीन पुष्टि

केही समय अगाडि कटुवा खोला पुलको निर्माणमा गुणस्तरहीन बालुवा प्रयोग गर्न थालिएको भन्दै नमुनाका रुपमा परिक्षण गर्न ल्याइएको बालुवा गुणस्तरहीन नै भएको पाइएको छ । पुलको निर्माणका लागि बबई खोलाबाट ल्याएको बालुवामा माटो मिसिएको पाइएकाले त्यो बालुवा प्रयोगमा रोक लगाइएको सडक डिभिजन कार्यालयका ईञ्जिनियर कल्पना अधिकारीले जानकारी दिनुभयो ।

पुलको निर्माणमा प्रयोगका लागि बालुवा ल्याइएको भए पनि जिल्लाका सरोकारवाला निकायहरुको पहलमा सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराई उक्त बालुवा प्रयोगमा रोक लगाइएको थियो । आफूहरुको निरन्तर निगरानी भएकाले स्टिमेट अनुसार नै निर्माण सामग्रीहरुको प्रयोगमा कडाई गरिने सुचना अधिकृत अधिकारीले जानकारी दिनुभयो ।  दाङखबरबाट साभार

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger