Headlines News :
Home » » जिउँदै जलाइएका रोल्पाली आफन्तहरुका पीडा यस्ता छन् !

जिउँदै जलाइएका रोल्पाली आफन्तहरुका पीडा यस्ता छन् !

Written By Unknown on Saturday, July 2, 2016 | 5:41 AM


असार १८,रोल्पा । रात छिप्पिँदै थियो । २०५५ साल फागुन २६ गते तत्कालीन माओवादी युद्धबाट आक्रान्त एउटा युवा समूह हार्जङ–३ स्थित बलबहादुर रोकाको घरमा छलफल गर्दैथिए । अति भएपछि गाउँ गस्तीका लागि ‘माओवादी प्रतिकार समिति’ गठन गरेका थिए, उनीहरूले।



रात करिब–करिब १० बजेतिर उनीहरू बसेको घरमा बाहिरबाट चुकुल लगाइयो। घर घेरिएको थियो। जनताका लागि भनेर बन्दुक बोकाइएका माओवादीले खरको छानो रहेको उक्त घरमा चारैतिरबाट आगो लगाइदिए ।

एकैछिनमा हल्लीखल्ली मच्चियो। भाग्न खोज्दा बाहिरबाट ढोका बन्द। एक जना झ्याल खोलेर भाग्न खोजेका थिए, गोली कानै नेरबाट गयो । ‘जलेर घाइते मेरो बुढालाई झ्यालबाट भाग्न खोज्दा गोली हानेर मारे,’ ५५ वर्षीया दिलमता गिरी सुनाउँछिन्, ‘नौं जनालाई जिउँदै जलाएर मारेका हुन् । मेरो भाइलाई पनि जलाए ।’

घरभित्र बसेका नौ जनालाई जिउँदै जलाइएका परिवारले सत्य निरुपण तथा मेलमिलाप आयोगमा स्थानीय शान्ति समिति रोल्पामार्फत उजुरी दिएका छन्। ‘अनुहार कसैको चिनिनँ। मुढाजस्तो थियो लास त,’ जिउँदै जलाएका श्रीमान सम्झिँदै गौमला पुनले सुनाइन् ।

बाबु वेगम पुन जिउँदै जलाइएको सुनेकी थिइन् नरु पुनले। आफू ३ वर्षको हुँदा आमा समेत गुमाइन् । बाबु जिउदै जलाइनुको कारण नबुझेकी नरु ५ कक्षामा पढ्छिन् । एक्ली सन्तान उनी कोही नभएपछि मामा घरकी एक्ली हजुरआमाको सहारा बनेकी छिन् ।

२०५५ साल फागुन २६ गते एकै गाउँका बेगमबहादुर पुन, मनबहादुर गिरी, अमृत गिरी, पुस्ते गिरी, नरबहादुर पुन, ढाटे पुन, ऐभान पुन, गोपाल गिरी, तिर्खराम गिरीलाई एउटै घरमा एकै दिन जिउँदै जलाइएको थियो । सबै किसानी गरेर खाने परिवार। उनीहरू न धनाढ्य थिए, न जमिनदार। गाउँको आफ्नो मानो खाने यी युवालाई जिउँदै किन जलाइयो भन्ने प्रश्नको उत्तर यिनका परिवारले पाएका छैनन् ।

१८ वर्ष अगाडिको यो घटना भित्र–भित्र अलिअलि तुष रहे पनि भुल्ने अवस्थाका यी मन अहिले फेरि कुँडिएको छ। गाउँस्तरको एउटा कार्यक्रममा कोही कसैले ‘बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगमा उजुरी दियौं भने फेरि पहिलेजस्तो हुनसक्छ’ भन्ने भाषण गरेपछि अर्को त्रासमा छन् उनीहरू।

‘आफन्त पनि गुमाउनु आयोगमा उजुरी दिँदा पनि धम्की?,’ एक स्थानीयले गुनासो गरे, ‘कति त डरले उजुरी फारम भर्नै आएका छैनन् ।’ डरका कारण नाम नखुलाउने गरी उनी बोले।

उता २०५४ साल चैत्र ११ गते श्रीमान धनबहादुर पुन र ससुरा लीलाराम पुन बेपत्ता बनाइएको उजुरी दिन आएकी रेसु पुन पनि उनीहरूसँगै पुगेकी थिइन्। कतैबाट रोकावटको त्रास भने झेलिन् उनले। प्रहरीले घरबाटै पक्राउ गरी स्यूरी गाविसतिर लगिएका उनीहरू १९ वर्षदेखि बेपत्ता छन् । दिनेशदिपु सुवेदी/सेतोपाटी

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger