Headlines News :
Home » » दाङका खोलामा समयमै पुल नबन्दा जनतामाथि सास्ती थपिदै

दाङका खोलामा समयमै पुल नबन्दा जनतामाथि सास्ती थपिदै

Written By Unknown on Sunday, July 3, 2016 | 4:16 AM


नवीन अभिलाषी/असार १९, दाङ । वर्षातको मौसममा दाङको लमही–तुलसीपुर सडक खण्ड भएर यात्रा गर्नेहरु यो वर्ष पनि हैरान बेहोर्न बाध्य भएका छन् । खोलाहरुमा पानीको बहाव बढेर मात्र नभई पुलहरुको काम समयमै सम्पन्न नहुँदा यात्रुहरुले सास्ती बेहोर्न बाध्य भएका हुन् ।



वर्षातमा आएर बल्ल दाङका पुलहरुको निर्माण कार्य सुरु हुने गरेको छ । सडक नै अवरुद्ध हुने गरी पुलहरुको केहि वर्षदेखि निर्माण कार्य सुरु गरिएको हो । तर, निर्माणको काम रोकिदै र फेरि सुरु हँुदै गरेको छ । जस्का कारण प्रत्येक वर्षातको मौसममा सवारीका साधनहरु र यात्रुहरुलाई समस्या हुँदै आएको छ ।

घोराही–लमही सडक खण्डको कटुवा खोला पुल बिगत तीन वर्षदेखि निर्माणका काम सुरु गरिएको थियो । तर, अहिले निर्माण कार्य २५ प्रतिशत पनि सकिएको छैन । जसका कारण बाटो भत्काएर निर्माण थालिएको पुलको काम हिउँदमा रोकिने र वर्षातमा आएर मात्र सुरु हुने गरेको छ । विकल्पका रुपमा नजिकै तयार पारिएको डाइभर्सनले अन्य मौसममा त सताएको थियो नै वर्षातमा झन् दुःख दिएको छ । कटुवा खोलामा बढेको भेलले डाइभर्सन कटान गर्दा मोटरसाइल बाहेक ठुला सवारी साधन तथा मालबाहक गाडीहरु चल्न नसक्ने भएको छ । तर, सामान्य रुपमा मर्मत गर्दै जोखिम मोलेर भएर पनि सवारी चलाउने गरेको चालकहरुले बताएका छन् ।

स्थानीय रुट अनुसार चल्ने ट्याक्सी, म्याजिक बस, कारलगायतका साना साधनहरु घोराही–डवरी हँुदै चल्ने गरेको म्याजिक गाडी चालक शोभाखर भुसालले बताउनुभयो । त्यो सडक पनि हिलाम्मे र साँघुरो हँुदा यात्रा गर्न समस्या रहेको यात्रुहरुले बताएका छन् । दोहोरो गाडीहरु सञ्चालन हुन नसक्दा सडकमा जाम हुने गरेको छ, भने सडक नै बिग्रने गरेको त्यहाँका स्थानीयहरुले बताएका छन् । त्यतिमात्र होइन बिकल्पका रुपमा प्रयोग गरिएको त्यो सडकबाट यात्रु बोकेबाफत साना साधनहरुले थप भाडा असुल्ने गरेको यात्रुहरुको गुनासो रहेको छ ।

त्यस्तै सोही सडक खण्डको बबई नदीमा पनि पुल निर्माण कार्य भर्खरै सुरु भएको छ । पुल निर्माणका लागि सडकमै ठूला खाल्टा खनेर छेउबाट सवारी चल्ने बैकल्पिक कच्ची मार्ग बनाइएको छ । अर्कोतिर प्रतिकुल मौसममा पुल निर्माणको काम सुस्त गतिमा बढेको छ । यस्तै घोराही तुलसीपुर सडक खण्डअन्तर्गत पत्रे खोला, संग्राम खोलालगाएतका केहि स्थानमा पुलको काम चलिरहेको छ, भने डाइभर्सन निर्माण गरेर काम चलाउने प्रयास गर्दा खोलामा बाढी आउँदा समस्या थपिएको छ ।

पुल निर्माणका लागि आवस्यक पर्ने ईन्धन यो वर्ष अभाव रहेको बन्द हड्तालका कारण निर्माणको काम अगाडि बढ्न नसकेको कटुवा खोला र पत्रे खोलाको निर्माण गर्ने जिम्मेवारी पाएको शंकरमाली निर्माण सेवाले बताएको छ । ‘तपाईहरुलाई थाहा छ, यो वर्ष लामो बन्द हड्ताल भयो, बन्द मात्र हैन ईन्धनको चरम अभाव भयो । यस्तो अवस्थामा कसरी काम गर्न सकिन्छ ?’ कम्पनीका पदम शर्माले भन्नुभयो, ‘ढुंगा गिट्टी बालुवा पनि यहि समयमा आएर मात्र पाइन्छ । काम गर्न निक्कै समस्या छ ।’

२०७१ साल कार्तिकमा ठेक्का सम्झौता भएको कटुवा र पत्रे खोलाको पुल निर्माण २४ महिनाभित्र सम्पन्न गर्ने योजना रहेको थियो । यी पुलहरु आगामी असोज महिनाभित्र सम्पन्न गरिसक्नुपर्ने समयावधी छ । तर, पुल निर्माणका लागि आवस्यक पर्ने निर्माण सामग्रीहरुको अभावका कारण १० महिना काम नै रोकिएकाले यी दुई पुलहरु आगामी आर्थिक वर्ष मात्र सम्पन्न हुने शर्माको भनाइ छ ।

सरोकारवाला निकाय मौन
सम्झौता भएको लामो समयसम्म पनि पुलहरुको निर्माण कार्य सम्पन्न नहुने र सर्वसाधारणहरुले दुःख पाइरहदा पनि स्थानीय सरोकारवाला निकायहरुले कुनै चासो दिएका छैनन् । जिल्लाको भौतिक विकासमा जनचासो घट्दै गएको छ, भने सरोकारवाला निकायहरु समेत कुनै चासो नदिएको पाइएको छ । तर, नागरिक समाज दाङका सचिव चन्द्रराज पन्तले सडक डिभिजन कार्यालयलाई पटक–पटक ध्यानाकर्षण गराउँदै आएको बताउनु भयो । ‘हामीले भन्ने सडक डिभिजनलाई हो । डिभिजनले विभिन्न आलटाल गरेको छ’, सचिव पन्तले भन्नुभयो, ‘सबैले आआफ्नो जिम्मेवारी बहन गर्नुपर्छ भनेर हामीले भन्दै आएका छौं ।’ विभिन्न कार्यक्रमहरुमा यो सवालको उठान गरिरहेको उहाँको भनाइ रहेको छ ।

जनतालाई दुःख दिने मनसाय देखिएको भन्दै यो लापरबाहीको अन्त्य हुनुपर्ने उहाँको भनाइ रहेको छ । जिल्ला विकास समितिको सार्वजनिक सुनुवाई कार्यक्रममा पनि यो विषयलाई कडाईका साथ उठाइएको छ । सर्वसाधारणहरुको दैनिक जीवनसँग जोडिएका भौतिक संरचना निर्माणका लागि जिम्मेवार निकायहरुले आलटाल गर्न नहुने सचिव पन्तले बताउनुभयो ।

निर्माण व्यवसायी संघले अनुगमन गर्ने

यता दाङ निर्माण व्यवसायी संघले जिल्लाका विभिन्न स्थानमा निर्माण सुरु गरिएको पुलहरुको अनुगमन गर्ने भएको छ । जिल्लामा निर्माण थालिएका पुलहरुको बारेमा व्यापक जनगुनासो आएपछि संघका पदाधिकारीहरुको नेतृत्वमा आज अनुगमन गरिने संघका सचिव दोर्ण बहकारीले जानकारी दिनुभयो ।

अध्यक्षको निर्देशनमा आज संघका बरिष्ठ उपाध्यक्ष गणेश गिरी, प्रथम उपाध्यक्ष गोपाल घिमिरे, महासचिव शोकबहादुर रोकालगायतले पुल निर्माणको कामलगायत अन्य ठेक्का प्रक्रिया र उपभोक्ता समितिले गरेका कामहरुको बारेमा पनि अनुगमन गरिने सचिव बहकरीले जानकारी दिनुभयो । केहि व्यक्तिहरुका कारणले सिंगो निर्माण व्यवसायीहरुको बदनाम भएको भन्दै अनुगमन गर्न थालेको संघले जनाएको छ । -समाचार गणतन्त्र दैनिकमा छापिएको छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger