|
|
नेपालगञ्जबाट रोल्पाको लिबाङका लागि छुटेको सनराइज यातायात संघको भे १ ज ७५२ नम्वरको टाटा सुमो गाडी हिजो दिउसो प्यूठानको गोठीबाङ–२ जुरापाटा भन्ने स्थानमा तोडफोड भएको प्यूठान प्रहरीले जनाएको छ ।
तोडफोडबाट गाडीको अगाडी पट्टिको सिसा फुटेको छ । तोडफोड भएको गाडी र घटनामा संलग्न २ जना आरोपितहरु इलाका प्रहरी कार्यालय भिङ्ग्रीको नियन्त्रणमा रहेको प्यूठानका डिएसपी सिसा रन्जीतसिंह राठौरले जानकारी दिए ।
नेपालगञ्ज–लिबाङ रुटमा सोमबारदेखी औपचारिक रुपमा गाडी सञ्चालनमा ल्याउनको लागि छुटेको गाडी तोडफोड भएको सनराइज यातायात व्यवसायी संघका सचिव राम बहादुर भण्डारीले बताए । सरकारले सिन्डीकेट खारेज गरीसकेको अवस्थामा गाडी तोडफोड हुनु नियम विपरीत भएको भण्डारीले बताए ।
साथै तोडफोडमा संलग्न व्यक्तिहरुमाथि कारवाही हुनु पर्ने समेत उनले बताए । गाडी तोडफोडमा जलजला यातायात व्यवसायी समिति रोल्पा संलग्न भएको उनको आरोप छ । यस अघि नै सनराइजले गाडी सञ्चालनमा ल्याउन लागेको भन्दै स्थानीय प्रशासन तथा सम्बन्धीत निकायहरुमा सुरक्षाको माग गरेको थियो ।
त्यस्तै शनिवार मात्रै जलजला यातायात व्यवसायी समितिले एक विज्ञप्ति मार्फत उक्त कार्यको निन्दा गरेको थियो । रोल्पाका प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले सहमतिको लागि तोडफोड गर्ने समिति र नयाँ समिति दुबै आउनु पर्ने बताएका छन् । सनराइज यातायातका गाडीहरु रोल्पा आइसकेपछि तोडफोड हुन नदिने समेत प्रजिअ शर्माले बताए । -तुलसीपुर अनलाइन
Post a Comment