|
|
पुस ८, दाङ । पछिल्लो समय दाङमा सम्बन्ध बिच्छेद गर्नेहरुको संख्यामा बृद्धि हुँदै आएको छ । जिल्ला अदालत दाङका अनुसार बैदेशिक रोजगारका कारण श्रीमान श्रीमतिहरु पर पुरुष र परस्त्रीसँग सम्पर्क बढाउनु, मादकपदार्थ सेवन गरेर कुटपिट गर्नु, मानिसहरुमा स्वतन्त्र हुने चाहना बढ्नुलगायतका कारणले सम्बन्धबिच्छेद गर्नेहरुको संख्यामा बृद्धि हुँदै आएको हो ।
कार्यालयका श्रेष्तेदार बलदेव पाण्डेका अनुसार गत आर्थिक वर्षको मंसिर महिनासम्ममा जिल्लामा १ सय ५५ वटा सम्बन्धबिच्छेदका लागि उजुरी दर्ता भएकोमा ८७ वटा सम्बन्धबिच्छेद भएका थिए । त्यसैगरी चालु आर्थिक वर्षको मंसिर महिनासम्ममा १ सय ८५ वटा उजुरी दर्ता भएकोमा १ सय ५ वटा सम्बन्धबिच्छेद भएका छन् । यसरी गत र यस आर्थिक वर्षको मंसिर महिनालाई तुलना गर्दा यो वर्ष दाङमा १८ को संख्याले सम्बन्ध बिच्छेदका घटनामा बृद्धि आएको छ ।
यस्तै गत आर्थिक वर्षको मंसिर महिनासम्ममा दर्ता भएका जम्मा उजुरी मध्ये ६८ वटा उजुरी फैसला हुन बाकी रहेका थिए भने चालु आर्थिक वर्षको मंसिर महिनासम्ममा दर्ता भएका जम्मा उजुरीमध्ये ८० वटा उजुरी फैसला हुन बाँकी रहेको कार्यालयले जनाएको छ ।
यसैबीच दाङमा सम्बन्धबिच्छेदका लागि उजुरी दर्ता गर्नेमा पुरुषको तुलनामा महिलाको संख्या बढि भएको श्रेष्तेदार पाण्डेको भनाइ छ । पुरुषहरुलाई उजुरी दर्ताका लागि प्रक्रिया अलिक झन्झटिलो भएका कारण पनि उजुरी दर्ता गर्नेहरुमा महिलाको संख्या बढी रहेको उहाँले बताउनुभयो ।
महिलाहरुले सिधै अदालतमा गएर उजुरी दर्ता गराउने व्यवस्था छ भने पुरुषहरुलाई सम्बन्धित गाविस वा नगरपालिका हँदै अदालतसम्म पुग्नुपर्ने व्यवस्था रहेको कार्यालयले जनाएको छ । सुधासुमन ढकाल, dangkhabarबाट
Post a Comment