Headlines News :
Home » » दाङमा रिजमको रू. २२ करोड लगानी, मह उत्पादन, प्रशोधन र बजारीकरणमा प्राथमिकता

दाङमा रिजमको रू. २२ करोड लगानी, मह उत्पादन, प्रशोधन र बजारीकरणमा प्राथमिकता

Written By Unknown on Thursday, December 31, 2015 | 8:19 PM


पुस १७, दाङ । दाङको कृषिजन्य वस्तुको उत्पादन, प्रशोधन र बजारीकरण गर्न साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजना (रिजम)ले करीब २२ करोडभन्दा बढी लगानी गरेको छ ।

३ वर्षको अवधिमा विभिन्न ५० ओटा कृषिजन्य वस्तुको प्रशोधन र बजारीकरणका योजनामा लगानी गरिएको रिजमका कृषि प्राविधिक मुकुन्दराज देवकोटाले जानकारी दिए । ‘लगानीको प्रतिफल राम्रो हुने देखिएको छ,’ उनले भने, ‘प्रतिफलको राम्रो सम्भावना देखेपछि लगानीकर्ताहरू हौसिएका छन् ।’

उक्त योजनामध्ये सबैभन्दा बढी मह उत्पादन, प्रशोधन र बजारीकरणमा लगानी भएको छ । मह उत्पादन, प्रशोधन र बजारीकरणमा झण्डै रू. ६ करोड लगानी भएको देवकोटाले जानकारी दिए । त्यस्तै, तरकारी उत्पादन, च्याउ उत्पादन र बजारीकरणमा बाँकी रकम लगानी भएको उनले बताए ।

प्रशोधनका योजनामा प्रतियोजना करीब १÷१ करोड, अन्य कृषक समूहले गर्ने उत्पादनका योजनामा प्रतियोजना १५ लाखभन्दा बढी र सहकारीले सञ्चालन गरेका गरेका उत्पादनका योजनामा प्रतियोजना ५० लाखभन्दा बढी लगानी भएको बताइएको छ । रिजमले दाङका चार नगरपालिका र ३१ गाविसलाई आधार क्षेत्र बनाएर काम गरिरहेको रिजमले जानकारी दिएको छ ।

यस वर्ष थप १७ ओटा योजनाको (पीसीएन) आधा प्रपोजल स्वीकृत भएर आएको र पूर्णरूपमा योजना छनोटका लागि पठाइएको उनले जानकारी दिए । रिजमले दाङको रामपुर, देउखुरीको नर्ती र गढवामा कृषिजन्य वस्तुको बजारीकरणका लागि विक्रीकेन्द्र सञ्चालन गर्दै आएको छ भने नर्तीकै वनगाउँमा केरा, आलुलगायतको विभिन्न जातका बेर्ना उत्पादन शुरू गरेको छ ।

यसपटक पठाइएका १७ ओटै योजना छनोट भएमा लगानीको दायरा झनै फराकिलो हुने देवकोटाले बताए । ‘सकभर सबै योजना छनोट भएर आउँछन्,’ उनले भने, ‘यसले कृषकको व्यवसाय प्रोत्साहन तथा रिजमको अनुदान पनि बढाउनेछ ।’

भर्खरै मात्र जिल्लाको सदरमुकाम घोराहीमा आफ्नो उप–आयोजनाको रूपमा शिवशक्ति बी कन्सर्नमा आधुनिक मह प्रशोधन केन्द्र स्थापना गरिएको छ, जसमा रिजमले करीब ४० लाख लगानी गरेको छ । उक्त कम्पनीले जिल्लामा उत्पादन गर्ने कुल महको ५० प्रतिशत उत्पादन तथा बजारीकरण गर्ने लक्ष्य लिएको छ । ‘हामीजस्ता व्यावसायिक कृषकलाई रिजमको लगानीले व्यवसायमा धेरै सघाएको छ,’ कन्सर्नका विष्णु श्रेष्ठले अभियानसँग भने, ‘रिजमबाट व्यवसायलाई आधुनिकीकरण गर्न पनि सकेका छौं ।’

रिजमले आफूहरूको व्यावसायिक लगानीमा अनुदान थप गरिदिएपछि व्यवसाय सञ्चालनका साथै व्यवसायीकरणमा समेत सहज भएको कृषकहरू बताउँछन् । रिजमले मध्य तथा सुदूरपश्चिमका दश जिल्लामा विभिन्न कृषिक्षेत्रमा काम गर्दै आएको छ । -अभियानबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger