|
|
माघ २७, काठमाडौं । कांग्रेस सभापति सुशील कोइरालालाई तीन दिनदेखि हल्का ज्वरो आइरहेको थियो ।
खोकी र खकारको मात्रा बढिरहेको थियो । सोमबार बिहान उनका निजी चिकित्सक डा. करवीरनाथ योगीले त्रिवि शिक्षण अस्पतालको ६०१ नम्बरको भिभिआइपी क्याबिनसमेत बुक गरेका थिए ।
दिनभर अस्पतालबाट सोधनी भइरह्यो, कति बेला ल्याउने ? तर, दिउँसो कोइरालाले केही जाउलो खाए । चिकित्सक र आफन्तलाई लाग्यो, अब ठीकै होला तर साँझ परेपछि खस्किन थालेको स्वास्थ्य अवस्था रात छिप्पिँदै जाँदा संकटतर्फ उन्मुख भयो र १२ः५० मा उनको निधन भयो ।
मुलकको सबैभन्दा ठूलो पार्टीका सभापति एवं पूर्वप्रधानमन्त्रीसमेत रहेका कोइरालालाई तीन दिनदेखि नै स्वास्थ्यमा समस्या देखिँदा पनि किन अस्पताल लगिएन त ? यस जिज्ञासामा योगीले भने, ‘उपचार घरमै पनि भइरहेको थियो, तर, दिउँसो खाएको जाउलोले झुक्यायो ।’
डा. योगीले दिउँसो खाना र राति अबेर पनि सुप खाएसँगै योगीले नजाने भए म क्याबिन क्यान्सिल गरिदिन्छु भन्दै रद्द गरेको बताए । अहिलेको अवस्थामा देशकै सबैभन्दा महत्त्वपूर्ण व्यक्तिमध्येका एक कोइरालालाई अस्पताल नलगिनु, पछि एम्बुलेन्स आउन ढिला भएको भनिनु र सहयोगीसमेत नभएको अवस्था देखिनुलाई कतिपयले लापरबाहीका रुपमा हेरेका छन् । आजको नागरिक दैनिकमा खबर छ ।
Post a Comment