|
|
केशर रोका, प्यूठान २८ फागुन । ओझेलमा परेको मनोरम पर्यटकीय स्थल दिहाल्नाचौरको प्रबर्धन गर्नका लागि एक हप्ते दिहाल्ना खेलकुद एवं पर्यटन महोत्सव संचालन भईरहेको छ ।
पर्यटकीय क्षेत्रको प्रशस्त संभावना हुँदाहुँदै पनि यस क्षेत्र ओझेलमा परेकाले महोत्सव संचालन गरिएको आयोजक संस्था दिहाल्ना पर्यटन विकास कार्यक्रमका अध्यक्ष गोविन्द गिरीले बताए ।
आन्तरिक एवं बाह्रय पर्यटकहरुको प्रमुख ‘गन्तव्यस्थल’को रुपमा यस क्षेत्रलाई विकास गर्न सकिने प्रशस्त संभावना हुँदाहुँदै पनि हालसम्म राज्यको ध्यान पुग्न नसकेको यहाँका स्थानीयले गुनासो गरेका छन् ।
दिहाल्नाचौरको डाँडामा भ्यू टावर, वडा नम्वर ९ लेकको बस्तीमा होमस्टे, मध्यपश्चिम क्षेत्रकै नमुना क्रिकेट रंगशाला, योगाश्राम, फन पार्क, पिकनिक स्पोट र पर्यटकीयस्थल अर्खाको गौमुखीदेखि दिहाल्नासम्म पदमार्ग जस्ता थुप्रै संभावनाहरु यस क्षेत्रमा रहेका छन् ।
समुन्द्री सतहदेखि २ हजार १ सय मिटर उचाईमा अवस्थित दिहाल्नाचौरबाट माछापुच्छ्रे, धौलागिरी र जलजला लगाएतका हिमालहरुको प्रष्ट दृश्यावलोकन गर्न सकिन्छ । गोठिवाङ बाहेक प्यूठानका सवै गाविसहरुको दृश्यावलोकन दिहाल्नाबाट गर्न सकिन्छ । ‘दिहाल्ना क्षेत्रको विकासमा राज्यको ध्यान पुग्न सकेको छैन्, संस्थाका अध्यक्ष गिरीले भने,‘पर्यटकीय क्षेत्रको प्रवद्र्धनका लागि पहिलो पटक महोत्सव संचालन गरेका छौँ ।’
महोत्सव मार्फत राज्यको ध्यानाकर्षण हुने अपेक्षा लिइएको उनले बताए । यस क्षेत्रमा सडकको समस्याले गर्दा पर्याप्त पर्यटकहरुको आगमन हुन नसकेको उनको भनाई छ । लुङको बाहाने-खवाङ र ओखरकोट ढाँडादेखि कठिन सडक हुँदै दिहाल्नाचौरमा पुग्न सकिन्छ । दुवै क्षेत्रबाट करिव ढाई घण्टामा पुग्न सकिने सडक अत्यन्तै अप्ठ्यारो भएकाले स्तरोन्नती गर्न यहाँका स्थानीयले माग गरेका छन् ।
‘कठिन यात्रा गरेर मान्छेहरु दिहाल्नाचौर आउँछन्’,लिवाङ–९ का तुलस बस्नेतले भने,‘एक पटक आएपछि पर्यटक अप्ठ्यारो सडक देखेर पूनः आउन मान्दैनन् ।’ आन्तरिक एवं बाह्रय पर्यटकहरुको प्रमुख गन्तव्य स्थल’को रुपमा यस क्षेत्रलाई विकास गर्न सकेमा आर्थिक हिसावले जिल्लाको मुहार परिवर्तन गर्न सकिने उनको विश्वास छ ।
‘खेलकुद पर्यटन समृद्धिको आधार, गन्तव्य दिहाल्ना हाम्रो सरोकार’ भन्ने मुल नारा सहित संचालित महोत्सवमा जिल्ला स्तरीय टि–ट्वान्टी कप क्रिकेट, भलिवल प्रतियोगिता सहित स्थानीय स्तरको सरायँ नाच, झाँकी प्रस्तुती गरिएको छ । महोत्सवमा छिमेकी गाविस तुषारा, खवाङ, पूँजा, रजवारा, स्याउलीवाङ, ओखरकोट, नारीकोट, अर्खा लगाएतका सर्वसाधरण अवलोकनका लागि आएको संस्थाका उपाध्यक्ष राजेन्द्र जि.सी.ले जानकारी दिए ।
बुधवारसम्म अनुमानित २० हजार दर्शकले महोत्सव अवलोकन गरेको उनले बताए । महोत्सव समापन कार्यक्रममा राष्ट्रिय खेलकुद विकास समितिका सदस्य सचिव केशव विष्ट आउने कार्यक्रम तय भएको समेत उनले बताए । -तुलसीपुरअनलाइनबाट साभार
Post a Comment