|
|
दाङ फागुन २८ । दाङमा अष्ट्रिजपालन व्यवसाय सफल हुँदै गइरहेको छ । २ वर्ष अघिदेखि दाङको बिजौरीमा सुरु गरिएको अस्ट्रिजपालन व्यवसाय सफल हुँदै गएको जाँदा मासिक १ लाख बढी आम्दानी भइरहेको अस्ट्रिज नेपालका व्यवस्थापक वसन्त ओलीले जानकारी दिनुभयो ।
नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीको ५५ बिगाह जग्गा भाडामा लिई सुरु गरिएको अष्ट्रिज फर्ममा ६ सय ५० अस्ट्रिज रहेको भन्दै व्यवस्थापक वलीले यसलाई बढाउँदै लैजाने बताउनुभयो । विश्वको सबैभन्दा अग्लो पंछि मानिने अस्ट्रिजको अण्डा, मासु र प्वाक बिक्री हुने अलीको भनाइ छ ।
मासु प्रतिकिलो १ हजार ५ सय र अण्डा प्रतिगोटा २ हजार रुपैयाँका दरले बिक्रि गर्दै आएको व्यवस्थापक वलीले बताउनुभयो । ‘अस्ट्रिजपालन व्यवसाय सुरु गर्दा लगानी डुब्छ कि भन्ने डर लागेको थियो । तर, २ वर्षमै राम्रो आम्दानी भइरहेको छ’, ओलीले भन्नुभयो, ‘दाङमा अस्ट्रिजको मासु र अण्डाको माग न्यून भए पनि दाङ बाहिरका बजारहरुबाट अत्यधिक माग आइरहेको छ ।’
मासु जुनसुकै समयमा पनि बिक्री हुने गरे पनि अण्डा भने मंसिरदेखि असारसम्म मात्रै बिक्री हुने ओलीले बताउनुभयो । सुरुमा बच्चालाई हुर्काउन अप्ठ्यारो हुने भए पनि हुर्किसकेपछि कुनै पनि रोगले आक्रमण नगर्ने हुँदा लगानी सुरक्षित हुने व्यवस्थापक ओलीको भनाइ छ । फर्ममा दैनिक २० वटासम्म अण्डा उत्पादन हुने र सातामा २ पटक रुपन्देहीस्थित ह्याचरीमा बिक्रीका लागि पठाउने गरिएको उहाँले बताउनुभयो ।
‘कुखुराजस्तो अस्ट्रिजलाई रोग लाग्दैन । बेलाबेलामा भाले भालेको जुधाईले मर्न सक्छन्, तारजलीमा अड्किएर वा कुनै दुर्घटनामा परि मर्न सक्छन्’, उहाँले बताउनुभयो, ‘अस्ट्रिज ८ फिटसम्म अग्लो हुन्छन्, भाले २ सय ५० किलोग्राम र पोथी २ सय २५ किलोसम्म हुन्छन् ।’ ६० प्रतिशत सागपात र ४० प्रतिशत अन्न, नुन, तेललगायतका बस्तुलाई मिसाई चारो खुवाउँदै आएको व्यवस्थापक ओलीको भनाइ छ ।
एक करोड बढिको लगानीमा सुरु गरिएको अस्ट्रिज फम अवलोकन स्थलका रुपमा पनि विकसित हुँदै गइरहेको छ । सबैको चासोको विषय मानिएको अस्ट्रिज हेर्नका लागि दाङका साथै यस आसपासका क्षेत्रबाट मानिसहरु आउने गरेको जनाइएको छ । अस्ट्रिज फम प्रवेशका लागि प्रतिव्यक्ति १ सय रुपैयाँ शूल्क निर्धारण गरिए पनि विद्यार्थीहरुलाई ५० प्रतिशत छुट दिइदै आएको व्यवस्थापक ओलीले जानकारी दिनुभयो । ‘दाङ मात्रै होइन, मध्यपश्चिमका विभिन्न जिल्लाका साथै सुदूरपश्चिमका कैलाली, कञ्चनपुरसम्मका विद्यार्थीहरु अस्ट्रिज हेर्न आउनुहुन्छ’, व्यवस्थापक ओलीले भन्नुभयो, ‘प्रवेश शूल्कबाट दैनिक १ हजार रुपैयाँ आम्दानी भइरहेको छ ।’ -dangkhabarबाट साभार
Post a Comment