|
|
२०५९ साल आसोज ६ गते बारीमा हलो जोत्दै गरेका ४९ वर्षीय श्रीमान् सुकमन कामीलाई छिमेकी गाविस सेरमको घुस्बाङमा लगी गोली हानेर मारेको सुने पनि श्रीमती लालमता कामीले लाश भने पाइनन् ।
‘एकै दिन १२ जनालाई लगेर मार्या हुन्। सबैले म¥यो भने। लास नपाए पनि मरेको मानियो,’ लालमताले सुनाइन, ‘असोजमा जोडालाई मारे, त्यही फागुनमा प्यूठान मजदुरी गर्न हिँडेको छोरा २० वर्षीय नरबहादुर विकलाई पनि बेपत्ता बनाए।’
छ महिनाको अन्तरालमा श्रीमान्को हत्या अनि छोरा बेपत्ता भएपछि लालमता विक्षिप्त बनिन्। श्रीमान्को लाश नदेखे पनि छोरा आउने आशामा धेरै बसिन् तर अब आउँदैन कि जस्तो लाग्न थालेको छ। २०५९ सालपछि निम्न आर्थिक अवस्थाका लालमताको परिवार झनै समस्यामा पर्यो। आर्थिक जोहो गर्ने श्रीमान हत्याको पीडा भोगेको छ महिनामा आशाको त्यान्द्रो छोरा पनि बेपत्ता भएपछि बाटो हेर्दैमा १४ वर्ष बित्यो।
छोरासँगै प्यूठान मजदुरी गर्ने कसैले खुसुक्क छोरा बेपत्ता बनाएको खबर पठाएपछि जानकारी पाएकी लालमताले न छोरा खोज्न सकिन्, न त कसैले खोजीदियो।‘हाम्रा लागि कसले के गथ्र्यो र? ठूला, धनी भएको भए पो। न हाम्ले मान्छे चिन्या छम्, न त हाम्रो कोही छ। भर्खरको मेरो छोरोलाई काँ लगे होलान्? आउला कि बाबु?,’ गहभरि आँशु ल्याउँदै उनले भनिन्।
हाल कान्छा छोरा–बुहारीसँगै बसेकी गाम–७, बाहिरी गाउँकी लालमता कामी न्यायको खोजीमा छिन्। २०५९ साल असोज ६ गते सुकमन कामीजस्तै कुम्बीर घर्तीलाई पनि सेरमको घुस्बाङ लगेर मारियो। ‘मकै भाँच्न बुढाबुढी गा’थ्यौं। पाङबाङ खोलामा झरेको सेनाले जोडालाई फर्काएर लग्यो। म घर आएँ। पछि पो थाहा भो घुस्बाङ लगेर मारेछन्,’ ७० वर्षीया बेल घर्तीले सुनाइन्।
उमेर कम्तीमा छ दशक नाघेका लालमता कामी, बेल घर्ती, ओवसरा घर्ती, नौमाला घर्ती, खगी घर्तिनी, वीरमाला घर्ती, भिङमा घर्ती हातमा श्रीमानको मृत्यु दर्ता प्रमाणपत्र बोकेर बेपत्ता छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोगको उजुरी संकलन स्थल स्थानीय शान्ति समिति रोल्पाको आँगनमा भेटिए।
गाम जहाँ तत्कालीन युद्धताका ठूला–ठूला भिडन्त भयो भने माओवादीले बाटोको रुपमा प्रयोग गरिएको गाउँ हो। यताउता गर्दा एक–दुई रात बिसौनीका रुपमा प्रयोग हुने यहाँ प्रायः सबै नेतृत्वले टाउको लुकाएका थिए। सबैलाई थाहा छ। राज्यपक्षबाट ४१ जना मारिएका थिए भने विद्रोहीपक्षबाट ७ जनाको ज्यान गुमेको थियो गाममा। तर आज पनि गाउँ निराश छ। ओझेल परेको बस्तीजस्तै।
‘कुर्सीका लागि हामीलाई यस्तो गराए पापीहरूले। आफूहरू त मिलिकन खाइराछन् अहिले। अपराधीहरू,’ २ छोराको मृत्यु दर्ता प्रमाणपत्र बोकेर शान्ति समिति रोल्पामा अएकी ७५ वर्षिया मधु डाँगी गुनगुनाइन्।
पहिले नै श्रीमान गुमाएकी मधुका २२ वर्षीय छोरा इन्द्र डाँगी र २० वर्षीय गंगा डाँगीलाई गोठालो गएको समयमा खेतैमा गोली हानिएको थियो। ‘ग्वाला गएका दुई जना छोरालाई दिउँसै सेनाले गोली हानेछन्। के बिराएका हुँदा हुन् बालखले?,’ डाँगीले सुनाइन्। २०५९ साल चैत्र २० गते गैरीगाउँ–९, कवर गाउँमा मारिएका थिए, मधुका दुई सन्तान। बोल्दाबोल्दै भक्कानिएकी उनले धेरै कुरा गर्नै सकिनन्।
२०५५ सालमा दिलपुरी मगर्नी दुई छोरी, एक छोरासँग कोटगाउँ–३ स्थित आफ्नै घरमा सुतेकी थिइन्। १२ बजेतिर घर बाहिर बन्दुक पड्कियो। पछि बाहिर बसेका माओवादीले कुट्दै घरबाट बाहिर निकाले। रातारात भागेर सदरमुकाम आए उनीहरू।
श्रीमान् आइतसिंह बुढा पहिले विस्थापित थिए। लिबाङ–५ मा डेरा गरेर बस्न थाले उनीहरू। आमा, छोरा, छोरी डेरामै बसे पनि डरका कारण श्रीमान् आइतसिंह भने लुक्दै बस्थे। बीच–बीचमा माओवादी आएर धम्काउँथे।
कष्टपूर्ण जीवन बाँचेकी दिलपुरी २०५७ साल साउन ३० गते खुसी भइन्, जब श्रीमान् कोठामा आए। ४/५ महिना भएको थियो श्रीमान् श्रीमतीको भेट नभएको। ‘१२ बजेसम्म गफ गर्दै बस्यौ अनि सुत्यौं। २ बजेतिर कसैले ढोका ढकढकायो। उठेर ढोका खोल्दा मुखमा पट्टि बाँधेका तीन जनाले बन्दुक देखाउँदै हामीलाई बेस्सरी कुटे,’ दिलपुरीले विगत सुनाइन् ।‘श्रीमानलाई कुट्दै कोठाबाट निकालेर लगे। भोलिपल्ट विहान पो धाङसी खोलामा आँखा निकालिएको, हातखुट्टा भाँची हत्या गरी फालिदिएको अवस्थामा भेटियो,’ उनले भनिन्।
श्रीमान हत्या गरिएकै अवस्थाको एउटा तस्वीर बोकेर शान्ति समितिमा उजुरी दर्ता गर्न आएकी दिलपुरी उजुरी दिँदै गर्दा फेरि प्रतिशोध हुन्छ कि भन्ने त्रासमा छिन्। ‘जे भो भयो। अब त केही नगरे हुने। खै किन फेरि फारम मागेका हुन्?,’ असन्तुष्टिकै बीचमा उजुरी दर्ता गरिन् उनले। उजुरी गरे पनि पोलापोल गर्ने, मुद्दा हाल्ने, लड्ने, झगड्ने पक्षमा छैनन दिलपुरी।
यी प्रतिनिधि पात्र हुन् श्रीमान् र छोरा गुमाएका आमाहरू। न यीमध्ये कसैलाई लोकतन्त्र, गणतन्त्रका बारेमा जानकारी छ न त संविधानका बारेमा। माओवादीको भाषामा राजनीतिक चेतनास्तर उठेको समाज। दुई छाक र एक सरोको जोहो मै दैनिकी सञ्चालन गर्न विवश रोल्पामा अहिले युवाहरूको अभाव बढ्दो छ।
कति द्वन्द्वका समयमा मारिए भने कति युवा विदेसिए। अहिले पनि रोल्पालीहरू हिजो द्वन्द्वका कारण पढ्न नपाएको परिणाम स्वरुप विदेसिन बाध्य छन्। जनताका लागि गर्छौं भन्नेहरूले केही सकारात्मक गर्न नसकेपछि रोल्पालीहरू निराश बनेका छन्। दिनेश दिपु सुवेदी, सेतोपाटी
Post a Comment