|
|
असोज ३ गतेदेखि उच्च अदालतका रुपमा कामकारवाही अघि बढाउने सरकारको निर्णय भए पनि ३ गते संविधान दिवसको सार्वजनिक बिदा परेकाले ४ गतेदेखि यहाँबाट उच्च अदालतका रुपमा इजलास बस्ने नवगठित उच्च अदालत तुलसीपुरका रजिष्टार नातिबावु लामिछानेले जानकारी दिनुभयो ।
यहाँको अदालतले दाङ, रुकुम, रोल्पा र प्युठानको मुद्धा हेर्नेछ । त्यसैगरी बुटवल इजलासले रुपन्देही, नवलपरासी, कपिलवस्तु, पाल्पा, गुल्मी र अर्घाखाँचीका मुद्दा हेर्नेछ । उच्च अदालतअन्तर्गतको अर्का नेपालगञ्ज इजलासले बाँके र बर्दिया हेर्ने गरी कार्यक्षेत्र तोकिएको छ । यस प्रदेशमा दुईभन्दा बढी पुनरावेदन अदालत रहेकाले एउटालाई उच्च अदालत र अरु अदालतलाई उच्च अदालतकै मातहतमा रहने गरी इजलास बनाइएको हो ।
दुईवटा प्रदेशमा परेका रुकुमका मुद्दा तुलसीपुर उच्च अदालत र नवलपरासीका मुद्दा बुटबल उच्च अदालतले नवलपरासी जिल्ला अदालत हेर्ने व्यवस्था न्याय परिषद्ले गरेको छ ।
उच्च अदालतको मुख्य न्यायाधीशमा श्रेष्ठ
आइतबार बसेको न्याय परिषद्को बैठकले प्रदेशनम्वर पाँचको मुख्य न्यायाधीशमा बमकुमार श्रेष्ठलाई नियुक्त गरेको छ । श्रेष्ठ यस अघि पुनरावेदन अदालत बाँकेमा कार्यरत हुनुहुन्थ्यो । यहाँ मुख्य न्यायाधीशसहित २२ जना न्यायाधीशको दरवन्दी तोकिएको छ । पुनरावेदन अदालत हुँदाका यहाँका कामु मुख्य न्यायाधीश कुलरत्न भुर्तेलको नेपालगञ्ज सरुवा भएको छ ।
उच्च अदालतले मौलिक हकको कार्यान्वयन, कानुनी हकको प्रचलन, सार्वजनिक विषय र विवादित विषयको अन्त्यका लागि फैसला गर्ने अधिकार प्रत्यायोजन गरेको छ । बन्दी प्रत्यक्षीकरण, परमादेश, उत्प्रेषण, प्रतिषेधलगायतका आदेश जारी गर्ने विशिष्ठ अधिकार समेत प्रदेश अदालतलाई अख्तियारी दिइएको छ । नयाँ संविधानले सर्वोच्च, उच्च र जिल्ला अदालत गरी तीन तहको न्यायप्रणाली व्यवस्था गरेको छ । समाचार गणतन्त्र दैनिकमा छापिएको छ ।
Post a Comment