|
|
अपिल विष्टले निर्देशन गर्नुभएको पहिलो चलचित्र ‘झुम्की’मा द्वन्द्वकालीन समयको एउटा पाटोलाई समेटिएको छ । तत्कालीन नेकपा माओवादीले युद्धविराम गरेको समयलाई समेटिएको ‘झुम्की’ नारीप्रधान चलचित्र भएको निर्माण पक्षले जनाएको छ ।
सिनेमा आर्टस्को प्रस्तुति रहेको यस चलचित्रमा निर्देशक विष्टकै लगानी छ । विष्टले यसअघि ‘दासढुङ्गा’ र ‘ऋतु’ जस्ता चलचित्र निर्माण गरिसक्नुभएको छ । स्थानीय थारु भाषासमेत प्रयोग गरिएको ‘झुम्की’को कथा रामबाबु गुरुङले लेख्नुभएको हो ।
चलचित्रमा रिश्मा गुरुङ, दयाहाङ राई, मनोज आरसी, भोलाराज सापकोटा, विजय बराल, प्रमोद अग्रहरी, मलिना जोशी, निश्चल बस्नेत, विजय बराल, सुष्मिता कार्की, प्रेमबहादुर खड्कालगायतले अभिनय गरेका छन् । रिश्मा चलचित्र ‘कबड्डी कबड्डी’की नायिका हुनुहुन्छ । उहाँले चलचित्र ‘झुम्की’मा मुख्य पात्र झुम्कीकै भूमिका निर्बाह गर्नुभएको छ ।
चलचित्रमा कालीप्रसाद बाँस्कोटा र हेमन्त रानाको सङ्गीत रहेको छ । चलचित्रबाट आशावादी रहेका निर्देशक विष्टले ‘झुम्की’ले सामाजिक यथार्थता रहस्यहात्मक ढङ्गले देखाएको बताउँदै यसबाट दर्शकले पूर्ण मनोरञ्जन लिने बताउनुभयो ।
Post a Comment