|
|
नारायणपुर, फागुन ४ । नारायणपुर क्षेत्रमा खानेपानीको उचित व्यवस्थापनका लागि २९ करोडको आयोजना परेको छ । नारायणपुर खानेपानी उपभोक्ता तथा सरसफाई समितिको पहलमा खानेपानी आयोजनाहरु परेका हुन् ।
जसमा नेपाल सरकार र उपभोक्ताहरुको लगानीमा १३ करोड ९५ लाखको सह लगानी खानेपानी आयोजना स्वीकृत भएको छ, भने नेपाल सरकारको लगानीमा १५ करोडको क्रमागत खानेपानी आयोजना परेको छ ।
सह लगानी आयोजनाअन्तर्गत खानेपानी व्यवस्थापनका लागि विभिन्न स्थानमा डिप बोरिङ, ओभरहेट ट्यांकी निर्माण हुने नारायणपुर खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष कुलप्रसाद रजौरे (श्रवण) ले जानकारी दिनुभयो ।
रजौरेका अनुसार योजनाअन्तर्गत झारवैरामा ४ लाख ५० हजार लिटर क्षमता भएको डिपबोरिङ र ओभरहेट ट्यांकी निर्माण, वीपी बाटिकामा २ वटा डिप बोरिङ निर्माण गरिनेछन् । यो आयोजनाबाट उत्तरमा त्रिपुर नगरपालिकाको धैरेनी दायाबाया, पूर्वमा दक्षीण अम्राई गुज्रेखोला, पश्चिममा खैरा चोक र दक्षिणमा वनगाउँ क्षेत्रका उपभोक्ताहरुलाई पानीको बिस्तार गरिने उहाँले बताउनुभयो ।
यसैगरी १५ करोड नेपाल सरकार लगानीको क्रमागत आयोजनाअन्तर्गत त्रिपुर नगरपालिकाको बरुवागाउँमा ४ लाख ५० हजार क्षमताको डिप बोरिङ निर्माण भइसकेको र ओभरहेट ट्यांकी निर्माणको काम जारी रहेको छ ।
यसैबीच नेपाल सरकारको ७० प्रतिशत लगानी र उपभोक्ताहरुको ३० प्रतिशत लगानीमा निर्माण हुन थालेको खानेपानी सह लगानी आयोजनाका लागि उपभोक्ताहरुलाई लगानी गर्न समितिले अनुरोध गरेको छ ।
यही फागुन १५ गतेसम्म उपभोक्ताहरुले लगानीको शुल्क बुझाउनु हुन अनुरोध पनि समितिले गरेको छ । साथै तोकिएको समयमा लगानी शुल्क बुझाउने उपभोक्ताहरुलाई विशेष छुटको व्यवस्था गरिएको पनि समितिले जानकारी दिएको छ । dangkhbarबाट
Post a Comment